चितवन कांग्रेस सभापतिका लागि ६ दाबेदार, पदाधिकारीमा को-को भिड्दैछन् ? (सूचीसहित) – Nepal Press

चितवन कांग्रेस सभापतिका लागि ६ दाबेदार, पदाधिकारीमा को-को भिड्दैछन् ? (सूचीसहित)

चितवन । नेपाली कांग्रेस चितवनको नेतृत्वमा पुग्न नेताहरुले कसरत तीव्र पारेका छन् । हालसम्म प्यानलगत समूह घोषणा भएको छैन । ७ जना पदाधिकारीमा ३२ जना आकांक्षी देखिएका छन् । सभापतिमा ६ जना, २-२ जना उपसभापति र सचिवमा १०-१० जना, २ सहसचिवमा ६ जना आकांक्षी देखिएका छन् । कैलाश कोइराला, उत्तम जोशी, प्रा. डा. सूर्यकान्त घिमिरे, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल र विजयशर्मा भुषाल जिल्ला सभापतिको दौडमा छन् ।

सभापतिका उम्मेदवार वर्तमान कार्यसमितिका उपसभापति कैलाश कोइराला २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा एक्सन कमिटी चितवन सचिव थिए । १३ औं महाधिवेशनमा सचिव पदमा पराजित उनी उपसभापतिमा मनोनित भएका थिए । उनी २ पटक नेविसंघ चितवनका अध्यक्ष हुन् । उनी तत्कालीन पार्टी सभापति सुशील कोइरालाको बागी उम्मेदवार विकास कोइरालाको भाइ हुन् । कैलाश भन्छन्, ‘म निरन्तर राजनीतिमा सक्रिय छु, सभापतिमा उम्मेदवार बन्न ढिलाई गरेको व्यक्ति हुँ, यसपाली सबैको साथ रहने अपेक्षा छ ।’ चितवनको स्थानीय समस्या उजागर गर्दै केन्द्रलाई घच्घच्याउन प्रतिवद्ध भएर लाग्ने बताए ।

अर्का उम्मेदवार वर्तमान कांग्रेसको जिल्ला सचिव उत्तम जोशी नेविसंघ चितवनको अध्यक्षपछि केन्द्रीय सदस्य पनि बने । क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने तयारी भएका बेला उनले चर्को विरोध गरेका थिए । जोशी भन्छन्, ‘तीनै तहका आगामी निर्वाचन जिताउन वडातहसम्मकै बलियो संगठन निर्माणमा खट्नेछु ।’ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर जितेको बताउँदै उनले आफ्नो जीत निश्चित भइसकेको दावी गर्छन् ।

अर्का उम्मेदवार कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे २५ वर्ष शिक्षण पेशामा सक्रिय थिए । जागिरकै शिलशिलामा उनी कैयन पटक जेलजिवन र प्रहरीको धरपकडमा परेका व्यक्ति हुन् । शिक्षण पेशामा आउनुपहिले उनी २०४५ सालमा नेविसंघ चितवनको नेतृत्व सम्हालेका थिए । भरतपुर महानगरको मेयरको उम्मेदवार बन्न रजिष्ट्रारबाटै राजिनामा समेत दिएका थिए । उनी भन्छन्, ‘कांग्रेसको कार्यकर्ताले रुखमै भोट दिने वातावरण बनाउन उभिनेछु, विगत जस्तो गल्ती दोहोरिन दिनेछैन ।’

अर्का उम्मेदवार राजेश्वर खनाल २०५५ मा नेपाल तरुण दलको जिल्ला सचिव, २०५९ मा जिल्ला अध्यक्ष बनेका थिए । १० वर्ष विद्यार्थी आन्दोलनमा सक्रिय थिए । ०४२, ०४६ र ०५९ मा ८ पटक हिरासतमा परेका थिए । १३ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दर्ता गरे पनि पछि फिर्ता लिएका थिए । उनी स्कुल र कलेज सञ्चालक पनि हुन् । उनी भन्छन, ‘जनताको बीचमा जाँदा अब कांग्रेसले आफ्नै चुनाव लिएर जानुपर्छ, एक्लै चुनाव जित्नेगरी संगठन बनाउनेछु ।’ उनले आफू सभापतिमा निर्वाचित भएमा ५ वर्ष अन्य कुनै पदमा प्रत्यासी नरहने बताए ।

अर्का उम्मेदवार मिलनबाबु श्रेष्ठ बागमती प्रदेशका समानुपातिक सांसद हुन् । २०३७ सालमा अमृत साइन्स कलेजको स्ववियु सदस्य, २०४८ मा कांग्रेस चितवनको कोषाध्यक्ष बने । २०४९ र २०५४ सालमा भरतपुरको वडानम्बर ७ को वडाध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधिको रुपमा काम गरेका थिए । उनी कांग्रेस भरतपुर नगरपालिका सभापति, नगर संयन्त्रमा कांग्रेसको प्रतिनिधिका रुपमा समेत काम गरेका थिए । उनी भन्छन्, ‘पार्टीमा हुकुमी शासन होइन, सामुहिक नेतृत्वको खाँचो छ, त्यसको नेतृत्व लिनेछु ।’ उनले चितवनका ९८ वटै वडालाई कांग्रेसमय बनाउने दाबी गरे ।

अर्का उम्मेदवार विजयराज शर्मा भूषाल पार्टी सभापति स्वर्गीय सुशील कोइरालालाई २०७० सालमा चितवन क्षेत्र नम्बर ४ को उम्मेदवार बन्दा आफ्नै घरमा राखेर चुनावी अभियानमा खटिएका व्यक्ति हुन् । २०३६ को जनमतसंग्रहमा उनी प्रचारप्रसार विभाग प्रमुख भएर काम गरेका थिए । यस अघिका दुई वटा जिल्ला अधिवेशनमा जिल्ला सभापतिको इच्छा त्यागेका उनले यसपाली सभापतिको दौडमा लागेका छन् । उनी भन्छन्, ‘सभापति म बलियो बन्नलाई होइन, पार्टीलाई बलियो र अनुशासित बनाउनलाई हो ।’

उपसभापतिका उम्मेदवारहरु के कस्ता छन् ?

कांग्रेस चितवनको २ जना उपसभापति पदमा १० जना आकांक्षी छन् । उपसभापतिका उम्मेदवार चितवन कांग्रेसका सचिव राजीव न्यौपाने नेविसंघको जिल्ला सचिव र उपाध्यक्ष बनेर काम गरिसकेका व्यक्ति हुन् । विद्यार्थी संगठनको नेतृत्वगर्दै उनी तहगत माथिल्लो पदको जिम्मेवारीमा पुगेका व्यक्ति हुन् ।

अर्का उम्मेदवार शालिग्राम शर्मा प्रशिक्षण विभागमा रहेर कांग्रेसको सिद्धान्त र इतिहासबारे सिकाउने कांग्रेस चितवनका पुराना नेता हुन् । कृषि बैंकको कार्यरत रहँदा उनी पञ्चायत विरुद्ध लागेको भनेर सजाय पाएका व्यक्ति हुन् । अर्का उम्मेदवार अधिवक्ता उद्धवबहादुर लोहनी काँग्रेस चितवनको जिल्ला समिति सदस्य, प्रवक्ता, कानुनी सल्लाहाकार जस्ता नेतृत्वमा रहेर काम गरिसकेका छन् ।

उपसभापति पदका अर्का उम्मेदवार राजेन्द्र डोटेल नेविसंघ चितवनको उपाध्यक्ष, रामपुर क्याम्पस इकाइ अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । उपसभापतिकै उम्मेदवार राजन गौतम पारिवारीक पृष्ठभूमि कांग्रेस भएपनि उनी उद्योग–व्यवसायमा बढी सक्रिय बने । उद्योग वाणिज्य संघ चितवनको पूर्वअध्यक्ष हुन् । नेविसंघ बालकुमारी इकाई अध्यक्ष पनि बने । उनी नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग प्रवद्र्धन समितिको सदस्य र चितवन जिल्ला कांग्रेसको उद्योग विभाग सदस्य हुन् ।

महेश बानियाँ क्षेत्री द्वन्दकालमा वीरेन्द्र क्याम्पसमा २०५६ मा माओवादी कार्यकर्ताबाट कुटिएका व्यक्ति हुन् । २०५३ मा वीरेन्द्र क्याम्पसको स्ववियू उपसभापति, तरुण दल जिल्ला सदस्य, नेविसंघको केन्द्रिय विद्यार्थी विभाग सदस्य, कांग्रेस चितवनको आमन्त्रीत जिल्ला सदस्य भैसकेका छन् । त्यस्तै सुरवीर पोख्रेल २०६७ सालमा जिल्ला कोषाध्यक्ष, ज्ञानेश्वर सामुदायिक वनका पूर्वअध्यक्ष तथा सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्ष भएर काम गरेका व्यक्ति हुन् । अर्का उम्मेदवार निर्मलकुमार श्रेष्ठ २०३६ सालमा कम्युनिष्टहरु हमलामा परेर गम्भीर घाइते भएका थिए । १२औं जिल्ला अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रिय अपांग महासंघको केन्द्रीय सदस्य पनि हुन् । अर्का उम्मेदवार तरुण दल चितवनको संस्थापक सदस्य भुवन खनाल आन्दोलनकै क्रममा २०६२ चैत २६ मा गोंगबुबाट गिरफ्तारीमा परेका थिए । युवा नेता रघुनाथ भट्टको नाम पनि चर्चामा छ ।

सचिव र सह-सचिवमा को-को छन् आकांक्षी ?

कांग्रेस चितवनको सचिवमा १० जना र सहसचिवमा ६ जना आकांक्षी देखिएका छन् । सचिवका आकांक्षीहरुमा कांग्रेस चितवनका सहसचिव सूर्य अर्याल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष ध्रुव पोखरेल, नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकाल, सञ्चार उद्यमी नवीनराज पौडेल छन् । यस्तै युवा नेता दिपक अधिकारी, तरुण दल चितवनका पूर्वसचिव आनन्दराज राउत, नेविसंघ नेता निर्मलराज पौडेल, कांग्रेसको शिक्षण विभागका प्रशिक्षक भरत दवाडी, कांग्रेस चितवनका साना तथा मझौला उद्योग तथा हस्तकला विषयगत समितिको विषयविज्ञ सूर्यमणि पौडेल, मौरी व्यवसायी शिवप्रसाद शर्माले सचिव पदमा उम्मेदवारी दिँदैछन् ।

सहसचिवका प्रत्यासीहरुमा ६ जना चर्चामा छन् । वर्तमान सहसचिव राजन कार्की, विद्यार्थी नेतृ विनिता चापागाईं, युवा नेता गोपाल दराई, दिनेश अधिकारी, शैक्षिक परामर्श व्यवसायी तथा त्रिवि नेविसंघ सहसचिव प्रदीपचन्द्र पण्डित, नेविसंघ चितवनका पूर्वउपसभापति भोजराज देवकोटाको नाम चर्चामा छ ।

उम्मेदवारी दर्ता १५ गते, स्थान अलमलमै

नेपाली कांग्रेस निर्वाचन अधिकृतको कार्यालय चितवनले जिल्ला अधिवेशन हुने मिति तोकेको छ । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलद्वारा जारी सूचनामा स्थगित भएको निर्वाचन कार्यक्रम यही १५ गते बुधबार विहान १० बजेदेखि सुरु हुने उल्लेख छ । उम्मेदवारको मनोनयन दर्ता १५ गते हुने र १९ गते विहान ८ बजेदेखि मतदान हुने उल्लेख छ ।

तर, मनोनयन दर्ता हुने स्थान र मतदान हुने स्थान भने टुंगो लागेको छैन । सूचनामा अर्को सूचना जारी गरेर जानकारी दिने उल्लेख छ । यसअघि यही १० गते जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम गर्ने तालिका रहे पनि ९ गते सूचना जारी गर्दै स्थगित गरिएको थियो । एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएपछि यातायात र आवास व्यवस्थापनमा कठिनाई हुने भन्दै रोकिएको थियो ।

भरतपुर-४ स्थित संगोल पार्टी प्यालेसमा उम्मेदवारी दर्ता र ११ गते भरतपुर-१० दुरसञ्चार रोडस्थित कवर्डहलमा मतदान हुने स्थान तोकिएको थियो । सहायक निर्वाचन अधिकृत श्रीराम सापकोटाका अनुसार २ हजार ९ सय ४४ जना प्रतिनिधिले नेतृत्व चयनमा सहभागी हुने बताए ।

वडा सभापति, क्षेत्रीय प्रतिनिधि, हरेक पालिकामा निर्वाचित अपांग प्रतिनिधि, साविकका क्षेत्रीय सभापति र जिल्लाका पूर्वसभापतिहरु, प्रतिनिधिसभा, प्रदेश सभा, राष्ट्रियसभाका उम्मेदवार तथा सांसदले जिल्लाको नेतृत्व चयन गर्नेछन् । सभापति १, उपसभापति, सचिव, सहसचिव २-२ जना सहित ७ जना पदाधिकारी चयन हुनेछन् । खुल्लातर्फ २४ र समावेशीतर्फ १७ जना सहित ४१ सदस्यीय कार्यसमिति चयन हुनेछ ।

महानगरमा कम्तिमा ३ महिला सहित ७ जना, हरेक नगरपालिकामा कम्तिमा १ महिला सहित ३ जना, गाउँपालिकामा कम्तिमा १ महिला सहित २ जना चयन हुनेछन् । यस्तै खसआर्यमा ३ महिला सहित ७ जना, आदिवासी–जनजातिमाा ३ महिला सहित ६ जना, थारुमा १ महिला सहित २ जना, दलित १ जना, अल्पसंख्यक वा अपांगबाट १ जना चयन हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर