कांग्रेस अधिवेशनमा फेरि झडप, मतदान अधिकृतसहित पाँच घाइते – Nepal Press

कांग्रेस अधिवेशनमा फेरि झडप, मतदान अधिकृतसहित पाँच घाइते

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा कांग्रेसको अधिवेशनका क्रममा मतदान अधिकृत नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

घटनामा ३ जना सुरक्षाकर्मी, एक जना मतदान अधिकृत र एक कांग्रेस कार्यकर्ता घाईते भएका प्रहरी प्रवक्ता डिएसपी बुडाथोकीले पुष्टि गरे ।

घाइते हुनेमा प्रहरी निरिक्षक सुरेश ठाकुर छन् भने अन्य दुईजना सुरक्षाकर्मीको विवरण खुलेको छैन । यस्तै बलरा नगरपालिका–८, अचलगडमा मतदान अधिकृतको रुपमा खटिएका उमेश चन्द्र झा र अर्का एक जना नाम ठेगाना नखुलेका कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये मतदान अधिकृतको झाको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था सामान्य छ । उनीहरुलाई प्रहरीले स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल मलंगवामा पठाएको छ ।

आइतवार स्थगित भएको वडा अधिवेशन मतदान प्रकृयाबाट गर्ने तयारी भइरहँदा दुई पक्षबाट फरक–फरक ठाउँमा गर्ने प्रस्ताव आएको थियो । सोही क्रममा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य समेत रहेका अमरेश सिंह पक्षका कार्यकर्ताले मतदान अधिकृतलाई वडा सभापतिको घर लैजान खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले आइतबार अधिवेशन प्रकृया सुरु भएको स्थानमा मतदान गराउने प्रयास गरेकोे थियो ।

प्रारम्भिक विवरणबाट ५ जना खुले पनि घटनामा थप घाइते भएको नेता अमरेश सिंह पक्षको दाबी छ । घटना लगत्तै घाइतेहरुलाई जिल्लाबाहिर रौतहट र भारतका विभिन्न अस्पतालहरुमा समेत पु¥याइएको स्थानीयको भनाइ छ । यता प्रहरीले घाइतेबारे एकिन गर्न नसकेको जनाएको छ ।

घटना नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रृग्यास र गोली फायर गरेको प्रत्यक्षदर्शीको भनाइ छ । तर, प्रहरीले भने पुष्टि गरेको छैन । उक्त स्थानका आइतवार विवाद हुँदा प्रदेश २ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहका निजी सुरक्षागार्डले गोली चलाएका थिए ।

तस्बिर साभार : उज्यालाे अभियान डटकम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर