ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ? – Nepal Press

ओलीको रोजाइका विशाल भट्टराई र पदम गिरी केन्द्रीय कमिटीमा किन अटेनन् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यरातमा महाधिवेशनको बन्दसत्र हलमा केन्द्रीय सदस्यहरूको नाम प्रस्ताव गर्दा विशाल भट्टराई र पदम गिरीको नाम नआएपछि धेरै महाधिवेशन प्रतिनिधि अचम्मित भए ।

संसदीय दलको प्रमुख सचेतक र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भट्टराई अध्यक्ष ओलीको रोजाइका नेता हुन् । तर, उनी किन छुटे ? धेरैले ठम्याउनै सकेनन् ।

भट्टराईजस्तै संसदीय भूमिकामा अब्बल साबित भएका र सबैभन्दा कान्छो प्रत्यक्ष निर्वाचित सांसद पदम गिरी केन्द्रीय सदस्यको प्रबल दाबेदार थिए । युवा पुस्ताबाट उनी केन्द्रीय सदस्यको रुपमा इन्ट्री हुने निश्चित हुँदा हुँदै कसरी छुटे ?

गिरी आफैं पनि छक्क परे । स्रोतका अनुसार उनी केही सहयोगीसहित सोमबार अध्यक्ष ओलीलाई भेट्न पुगेका थिए । गिरीको नाम केन्द्रीय सदस्यको सूचीमा नदेख्दा आफू पनि दुःखित भएको भन्दै ओलीले ‘यसपटक मिस भएछ’ भन्दै मनोनयनलगायतका अन्य प्रक्रियाबाट समेट्ने संकेत गरेका छन् ।

पर्वतबाट पदम गिरी केन्द्रीय सदस्य नपरेपछि जिल्ला नै खाली भएको छ । जिल्ला कमिटीको निर्वाचित अध्यक्ष रहेका युवा नेता गिरी पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत भइसकेका प्रभावशाली नेता हुन् ।

विशाल भट्टराई भने एमालेको प्रदेश १ को अध्यक्ष बन्ने लगभग निश्चित भएको छ । एमालेको विधानमा केन्द्रीय कमिटीपछि प्रदेश कमिटीलाई कार्यकारी मानिन्छ । प्रदेश कमिटीको अध्यक्ष केन्द्रीय कमिटीको पदेन सदस्य हुने भएकाले उनी केन्द्रीय कमिटी सदस्य नपरे पनि असन्तुष्ट छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर