बाणिज्य बैंकमा निक्षेप घट्नेक्रम तीब्र, सातामा ६ अर्ब निक्षेप घट्दा १४ अर्ब कर्जा लगानी – Nepal Press

बाणिज्य बैंकमा निक्षेप घट्नेक्रम तीब्र, सातामा ६ अर्ब निक्षेप घट्दा १४ अर्ब कर्जा लगानी

काठमाडौं । यो साता बाणिज्य बैंकहरूमा ६ अर्बले निक्षेप घटेको छ । मंसिर महिनाको पहिलो साता ८ अर्बले निक्षेप घटेको थियो । मंसिरको दुई सातामा निक्षेप १४ अर्ब घटिसकेको छ । यसैगरी यो महिनाको दुई सातामा कर्जा भने २१ अर्बले विस्तार भएको छ ।

मंसिरको पहिलो साता ७ अर्ब कर्जा लगानी गरेका बाणिज्य बैंकहरूले मंसिरको दोस्रो साता १४ अर्ब कर्जा लगानी गरेका छन । यो महिनाको दोस्रो सातासम्ममा नेपालका बाणिज्य बैंकहरूमा स्वदेशी निक्षेप ४१ खर्ब १ अर्ब र विदेशी निक्षेप १ खर्ब १८ अर्ब गरी कुल ४२ खर्ब १९ अर्ब निक्षेप गरेको छ भने ३९ खर्ब स्वेदशी मुद्रामा कर्जा लगानी र १ खर्ब ५५ अर्ब विदेशी मुद्रा गरी कुल ४० खर्ब ५५ अर्ब कर्जा लगानी भएको छ ।

बैंक वित्तीय संस्थाले राष्ट्र बैंकसँग लिएको स्थायी तरलता सुविधा र रिपोवापतको रकम फिर्ता गरेकाले निक्षेप घटेको राष्ट्र बैंकको दाबी छ । यसैगरी, रेमिटान्समार्फत प्राप्त हुने रकम घट्दा निक्षेप घटेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाल आयल निगमले आफ्नो मुद्दती निक्षेपबाट रकम झिकेर तेल आयात गरेकाले पनि निक्षेपमा कमी आउने जानकार बताउँछन् । यसैगरी बढ्दो आयातसँगै सरकारले राजस्व संकलन गरेर संघीय सञ्चिति कोषमा राखेको र खर्च नबढाउदा बैंकिङ प्रणालीबाट निक्षेप घटेको हो ।

राजस्व छल्नका लागि न्युनविजकीकरण गरी बस्तु आयात भइरहेको र हुण्डीलगायतका च्यानलमार्फत रकम पठाइएकाले निक्षेप हराएको विश्लेषण पनि गर्न थालिएको छ । यसैगरी भारतमा भन्दा नेपालमा ब्याजदर कम भएकाले पुँजी पलायन भएको हुनसक्ने आँकलनसमेत हुने गरेको छ । नेपाल बैंकिङ प्रणालीमा संकलन हुने निक्षेप मध्ये ५० प्रतिशत भन्दा बढि निक्षेप संस्थागत निक्षेप रहेको छ । संस्थागत निक्षेपमा कमी आउन साथ बैंकिङ प्रणालीबाट निक्षेप घट्ने गरेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *