नेपाल-भारत समन्वय समिति बैठक : आपराधिक क्रियाकलाप रोक्न जुट्यो सहमति – Nepal Press

नेपाल-भारत समन्वय समिति बैठक : आपराधिक क्रियाकलाप रोक्न जुट्यो सहमति

काठमाडौं । नेपाल-भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो । छलफलपछि दुवै देशका जिल्लाका अधिकारी सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुनसक्ने लागुऔषधको कारोबार, झुलाघाट झोलुङ्गे पुल मर्मत, भारतसँग जोडिएका घाट व्यवस्थित गर्ने लगायतका विषयमा छलफल भएको हो ।

यस्तै दुई देशका नागरिक एकअर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भएमात्रै प्रवेश गर्न दिने, सीमा क्षेत्रमा हुनसक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ । यसका साथै पूर्वभारतीय सेनामा कार्यरत व्यक्तिलाई बैंकबाट प्राप्त हुने निरवृत्तिभरण लिने प्रक्रिया सहज गर्ने, आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमानाका बन्द गर्नेलगायतका विषयमा छलफल भएको हो ।

भारतको पिथौरागढमा हिजो आयोजित उक्त बैठक पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा आशिष चौहानको पहलमा सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखकोसमेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर