ए डिभिजन लिगः एनआरटी र बीबीसीको गोलरहित बराबरी – Nepal Press

ए डिभिजन लिगः एनआरटी र बीबीसीको गोलरहित बराबरी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत सोमबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिमले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि केही मौका सृजना गरे पनि फिनिसिङमा चुक्दा खेल बराबरीमा टुङ्गियो । स्पष्ट मौका विरलै सृजना भएको खेलमा दुवै टोलीका फरवार्डले विपक्षी टोलीको रक्षापंक्तिमा दबाब बनाउन सकेनन् ।

खेल सुरु भएको दोस्रो मिनेटमा ब्रिगेडका सुरज गरुङले बाँया तर्फबाट गरेको क्रसमा कप्तान रोसन राना मगरले पेनाल्टी एरियाभित्र रन बनाएर गरेको प्रहार फ्रेममा परेको थिएन । सुरजको तीव्र क्रसमा कप्तान रोसनले विपक्षी टोलीका डिफेन्डरलाई बिट् गरे पनि बलमा ‘कनेक्ट’ गर्न सकेनन् ।

फरवार्ड रञ्जन विष्टले १२औँ मिनेटमा दिएको क्रसमा दर्शन गुरुङले पेनाल्टी एरियामा बल नियन्त्रण गर्न नसक्दा स्प्ष्ट मौका बनाउन एनआरटी चुकेको थियो । एनआरटीका दर्शनको पासमा १६औँ मिनेटमा मेसुके ओलोमेउले गरेको प्रहार फितलो साबित भएको थियो ।

त्यसको एक मिनेट नबित्दै ब्रिगेडका दिनेश राईले पेनाल्टी बक्सको एजबाट गरेको प्रहार डिफ्लेक्ट भएर बाहिरिएको थियो ।
एनआरटीका अफ्रिकन फरवार्ड मेसुकेले पुनः १८औं मिनेटमा दिएको क्रसमा युवा फरवार्ड दर्शन गुरुङको एक्रोब्याटिक प्रहार ब्रिगेडका गोलकिपर पूर्ण लिम्बु चेम्जोङले रोकेका थिए ।

स्टेफेन बिनोङको क्रसमा रञ्जनले ट्याप–इन गर्न नसक्दा ४३औं मिनेटमा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएको थियो । दोस्रो हाफको सुरुआती ५ मिनेट नबित्दै दिनेश राईले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो ।

ब्रिगेडका दिनेश राईले ६ यार्ड बक्सको एजबाट ६५औँ मिनेटमा गरेको लेफ्ट फुटेड सट एनआरटीका गोलकिपर अजितले फर्काइदिएका थिए । अशोक थापाको कर्र्नरमा बिनोङले ६७औँ मिनेटमा गरेको हेडर टार्गेटमा राख्न सकेनन् ।

यो बराबरीसँगै एनआरटीले लिगमा पहिलो अंक जोडेको छ । सुरुआती दुई खेलबाट एक अंक जोडेको एनआरटी लिग तालिकाको १२औं स्थानामा छ । यस्तै, समान दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड चौथो स्थानमा उक्लिएको छ ।

पहिलो चरणमा एनआरटी मच्छिन्द्र क्लबसँग २–१ ले पराजित भएको थियो । ब्रिगेडले एपीएफलाई ३–२ गोलको नतिजामा पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *