कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्‍यो – Nepal Press

कांग्रेसको प्रदेश अधिवेशन २ दिन सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच प्रदेश अधिवेशन २ दिन सार्ने सहमति भएको हो ।

महाधिवेशन कार्यतालिका अनुसार मंसिर १६ र १७ मा हुने तय भएका प्रदेश अधिवेशनहरू अब १८ र १९ मा हुनेछन् । कांग्रेसमा हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । बाँकी रहेका २५ जिल्लाको अधिवेशन सक्न थप समय लाग्ने भएकोले प्रदेश अधिवेशन २ दिन सारिएको हो ।

बाँके, चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवाससिहत प्रदेश २ का ८ जिल्लामा अधिवेशन हुन बाँकी छ । प्रदेश २ का अधिकांश जिल्लामा प्रदेश महाधिवेशन प्रतिनिधि चयन नभइसकेको हुँदा २ दिन ढिलो गरेरपनि सबैलाई समेट्न खोजिएको एक नेताले बताए । अब प्रदेश नेतृत्व चयन गर्न मंसिर १८ मा उम्मेदवारी दर्ता र १९ मा निर्वाचन हुनेछ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर