दुईपटक सभापति बनेका केरुङ अब केन्द्रीय सदस्यका उम्मेदवार – Nepal Press

दुईपटक सभापति बनेका केरुङ अब केन्द्रीय सदस्यका उम्मेदवार

पाँचथर । नेपाली काग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्रकुमार केरुङ केन्द्रीय सदस्यको उम्मेदवार हुने भएका छन् । काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएको छ । अब केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा आफूलाई अघि सारेको छु । देशभरबाट आउनुहुने प्रतिनिधिज्यूहरूले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ केरुङले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी मेरो लागि अवसर हो ।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजनधानी काठमाडौंका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए । दुई पटक जिल्ला सभापति निर्वाचित भएका केरुङले दोस्रो संविधानसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार थिए । जिल्ला कार्यसमितिमा दुईपल्ट सह-सचिवको भूमिका निर्वाह गरेपछि सभापति निर्वाचित भएका थिए । ट्रेड युनियन काग्रेस पाँचथरको तीन कार्यकालको सभापति भएका केरुङको साहित्यिक व्याक्तित्व पनि रहेको छ । पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै गर्दा सभापति निर्वाचित भएका केरुङ २०६७ सालमा प्रजातन्त्रवादि प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन गर्दै संगठन निर्माण, अभिलेखिकरण तथा राजनीतिक/सैद्धान्तिक बहस गर्दै अघि बढ्ने योजना केरुङले सुनाए । युग सुहाउँदो संगठन निर्माणलाई जोड दिँदै निरन्तर पार्टीको काममा लाग्न लागि उम्मेदवारी दिन लागेको केरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *