नेदरल्यान्ड्समा १३ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोम पुष्टि – Nepal Press

नेदरल्यान्ड्समा १३ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमाइक्रोम पुष्टि

आम्सटर्डम । दुईवटा उडानमार्फत दक्षिण अफ्रिकादेखि नेदरल्यान्ड्सको राजधानी आम्सटर्डम आइपुगेका १३ जना यात्रुमा यसैसाता पत्ता लागेको कोरोनाभाइरसको संक्रामक भेरिएन्ट ओमाइक्रोम संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका ६१ यात्रुमध्ये १३ जनामा नयाँ भेरिएन्ट भेटिएको हो ।

आफ्नो मुलुकका आइपुगेका यात्रुमा नयाँ भेरिएन्ट भेटिएपछि नेदरल्यान्ड्सले प्रतिबन्धमा थप कडाइ गरेको छ । यो नियममा अतिथि सत्कार हुने ठाउँहरु, सांस्कृतिक कार्यक्रमका थलोहरु र घरमै बढी मानिस भेला हुन समेत रोक लगाइएको छ ।

गत बुधबार दक्षिण अफ्रिकामा निकै संक्रामक मानिएको ओमाइक्रोम भेरिएन्ट पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टलाई भेरिएन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । यो सूचीमा राखिने भेरिएन्टलाई अत्यन्तै खतरनाक मानिन्छ ।

नेदरल्यान्ड्सको सार्वजनिक स्वास्थ्य विभागले आइतबार १३ जनामा ओमाइक्रोम भेरिएन्ट पुष्टि भएको जनाएको छ । विभागले थप कोभिड संक्रमित भएका नमुनामा पनि भेरिएन्ट भेटिन सक्ने अनुमान गरेको छ । त्यहाँका स्वास्थ्य मन्त्री हुगो डे जोंगेले दक्षिण अफ्रिकाबाट आइपुगेका अन्य यात्रुलाई समेत चाँडोभन्दा चाँडो कोभिड परीक्षण गर्न भनेका छन् । ‘नेदरल्यान्ड्समा नयाँ भेरिएन्टका थप केसहरु पनि भेटिन सक्छन्’ मिडियासँग उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर