युएईसँग पराजित भएसँगै नेपालको ग्लोबल छनोट पुग्ने सपना अधुरै – Nepal Press

युएईसँग पराजित भएसँगै नेपालको ग्लोबल छनोट पुग्ने सपना अधुरै

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसँग ४८ रनले पराजित हुँदै नेपालको ग्लोबल छनोटमा पुग्ने सपनामा पूर्णबिराम लागेको छ ।

दुबईको आईसीसी एकेडेमी मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले युएईले दिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा २ बल बाँकी रहँदा ७९ रनमा समेटियो ।

नेपालकालागि ईन्दु बर्माले २० बलमा सर्वाधिक १५ रन, सिता राना मगर ८ बलमा १३ रन बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

युएईको बलिङमा समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट लिइन । त्यस्तै छाया मुगाल १ तथा खुसी शर्मा र चामानि सेनेभिरत्नले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि चामानि सेनेभिरात्नले ३६ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन जोडेर पेभिलेन फर्किइन । थ्रिथा सातिसले ४६ बलमा ३ चौकासहित ४७ रन, काभिसा इगोडेजले २७ बलमा २२ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालको बलिङमा कबिता कुँवरले सर्वाधिक २ विकेट लिईन् । त्यस्तै सबनम राई, सिता राना मगर र संगिता राईले समान १ विकेट लिए ।

कुल पाँच खेल खेलेको युएईले सबै खेलमा जित हात पार्दै ग्लोबल छनोटमा स्थान बनाएको छ । नेपालले ५ मध्ये तीन खेल जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर