बन्दसत्र परिसरमा भीम रावलको पर्चा खोसियो – Nepal Press
एमाले महाधिवेशन

बन्दसत्र परिसरमा भीम रावलको पर्चा खोसियो

चितवन । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलको पर्चा खोसिएको छ । आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको जनाइएको छ ।

रावल पक्षधरले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका कार्यकर्ताको साथबाट स्वयंसेवकले पर्चा खोसेका हुन् ।

एमालेले महाधिवेशनमा चार बाइ चार इन्चभन्दा बढीका प्रसारसामग्री प्रयोग गर्न नपाइने आचारसंहिता बनाएको छ ।

बन्दसत्रको दोस्रो दिन आज सर्वसम्मत नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ । हिजो बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार दिएको थियो ।

उक्त निर्णयप्रति रावलले आपत्ति जनाइरहेका छन् । रावलले अहिलेसम्म आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *