ओलावालेको विजयी गोलमा मनाङको लगातार दोस्रो जित – Nepal Press

ओलावालेको विजयी गोलमा मनाङको लगातार दोस्रो जित

काठमाडौं । ओलावाले आफिजको निर्णायक गोलप्रेरित मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई १–० को नतिजामा पराजित गर्दै लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

लिगको दोस्रो चरणका खेलमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ‘रक सोलिड’ देखिएको शेर्पाको रक्षापंक्ति छिचोल्न हेभिवेट मनाङले ८३ मिनेटसम्म कुर्नु परेको थियो ।

मनाङले निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा पाएको कर्नरको सदुपयोग गर्दै अग्रता लिएको थियो । ८३औं मिनेटमा निशान लिम्बुको क्रसमा दिपक लिम्बुको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले बचाएका थिए । सोही कर्नरमार्फत ८४औं मिनेटमा पुजन उपरकोटीले कर्नरमार्फत दिएको पासलाई आफिजले हेडरमार्फत सुन्दर गोल गरेका थिए ।

सुरुआतबाटै आक्रामक खेलेको मनाङका आफिजले तेस्रो मिनेटमा गोलको अवसर खेर फालेका थिए । पुजन उपरकोटीको फ्रि–किकमा आफिजको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको ४१ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रि–किक क्रस बारमा लागेर फर्किँदा हिमालयन शेर्पा अग्रता बनाउन नजिक पुगेर पनि चुकेको थियो । मनाङका एडिलाजा सोमिडेले ५५औं मिनेटमा गोलको सुन्दर अवसर गुमाएका थिए । दयानन्द सिंहको क्रसमा अनमार्क रहेका उनको हेडरले पोस्टको दिशा लिन सकेको थिएन ।

खेलको ५६औं मिनेटमा मनाङका फरवार्ड विमल रानाले गोल गरेका थिए । तर, अफसाइड रहँदा उनको गोलले मान्यता पाएको थिएन । हिमालयनका फरवार्ड मुटुम्बाले ७१औं मिनेटमा आशिष गुरुङको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल आकाशिएको थियो ।

रोमाञ्चक खेलमा मनाङलाई रोक्न आफ्नो सतप्रतिशत दिएको शेर्पाले अन्तिमको ६ मिनेट सम्हालिन नसक्दा पराजित हुनु पर्यो ।

जितसँगै मनाङ सुरुआती २ खेलमा सतप्रतिशत नजिता र क्लिनसीट निकाल्दै ६ अंक बटुलेर तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ । पहिलो चरणको खेलमा मनाङले जावलाखेल युथ क्लबमाथि १–० कै संघर्षपूर्ण जित निकालेको थियो ।

यस्तै, पराजित शेर्पा भने सुरुआती दुई खेलबाट १ अंकसहित नवौं स्थानमा छ । शनिबार नै भएको पहिलो खेलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबमाथि १–० को जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *