परराष्ट्रको निर्णयविरुद्ध एनआरएनए अदालतमा – Nepal Press

परराष्ट्रको निर्णयविरुद्ध एनआरएनए अदालतमा

काठमाडौं । कुमार पन्त नेतृत्वको कार्यसमितिलाई निष्क्रिय तुल्याउने र निर्वाचन आयोजना गर्ने जिम्मा संरक्षक समितिलार्ई प्रदान गर्ने परराष्ट्र मन्त्रालयको निर्णयविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अदालतमा रिट दायर गरेको छ ।

उच्च अदालत पाटनमा उत्प्रेषणको आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध मुद्दा दायर गरिएको जानकारी अध्यक्ष कुमार पन्तले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सरकार विरुद्धको उक्त निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषदलाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले वर्तमान कार्यसमिति नै चुनाव सम्पन्न गर्ने बताए ।

‘परराष्ट्रमन्त्रीको नियत नै गलत देखिएको छ । ढुक्क हुनूस वर्तमान कार्यसमितिले नै चुनाव आयोजना गर्छ’ पन्तले भने, ‘यो अवस्था आउनुको नैतिक जिम्मेवारी मैले पनि लिन्छु तर, त्यसले सबै साथीहरुलाई न्याय हुने थिएन । नेतृत्वको कार्य विधानलाई पालना गराउनुपनि हो ।’

परराष्ट्रको कदमलाई अनुचित भएको बताउँदै उनले अदालतले उक्त कदमलाई सच्याउने अपेक्षा व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर