प्रचण्डको गृहजिल्लाका पालिकास्तरीय नेतृत्वको दाबेदारमा पूर्वलडाकु बढी – Nepal Press
माओवादी सम्मेलन

प्रचण्डको गृहजिल्लाका पालिकास्तरीय नेतृत्वको दाबेदारमा पूर्वलडाकु बढी

चितवन । नेकपा (माओवादी केन्द्र) को पालिकास्तरीय नेतृत्वका लागि पूर्वजनमुक्ति सेनामा काम गरेका धेरै आकांक्षी देखिएका छन् । चितवनका सातैवटा स्थानीय तहको नेतृत्वका लागि पूर्वलडाकुहरूको दौडधुप बढेको हो ।

अध्यक्षको आकांक्षीमा भरतपुर महानगर र माडी नगरपालिकामा ३/३ जना, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा ४/४ जना, खैरहनी र कालिका नगरपालिकामा ६/६ जना, राप्तीमा २ जनाको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला तथा निर्वाचित क्षेत्र भएकाले चितवनमा नेतृत्वका लागि रस्साकस्सी बढेको छ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरबाट नेतृत्वमा आउने व्यक्ति चासोका रूपमा हेरिएको छ । भरतपुर समिति अध्यक्षमा ईश्वर सापकोटा सुमन, रामचन्द्र अधिकारी र अञ्जान तिमिल्सिनाको नाम चर्चामा छ । सुमन जनयुद्धका घाइते पनि हुन् । उनले युद्धकालमा करिब ३ सय जना जनमुक्ति सेनाको कमाण्डर भएर काम गरेका थिए । वाईसीएल चितवन अध्यक्ष भएर पनि काम गरिसकेका छन् । रामचन्द्र अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भएयता राजनीतिमा बढी सक्रिय छन् । अञ्जान सेनाको जागिर छाडेर जनमुक्ति सेना बनेका व्यक्ति हुन् । उनले जनमुक्ति सेनाहरूलाई प्रशिक्षण दिने गर्दथे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन इञ्चार्ज इश्वरी भट्टराईका अनुसार चितवनको पालिकास्तरको नेतृत्वमा ४ सय ७९ जना आउँनेछन् । महानगरमा ९९ जना, अन्य ५ पालिकाहरूमा ६५ जना र इच्छाकामना गाउँपालिकामा ५५ जना पदाधिकारीमा आउँनेछन् । भट्टराईले सातवटै पालिकामा आकांक्षी धेरै देखिए पनि सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे ।

माओवादी केन्द्र भरतपुर समितिका अहिलेका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ ले चितवनका ७ वटै स्थानीय तहको नेतृत्वमा धेरै पूर्वजनमुक्ति सेना आकांक्षी बनेको बताए । ‘पदाधिकारीदेखि समिति सदस्य बन्न चाहने धेरै तत्कालीन जनमुक्ति सेना छन्’, उनले भने, ‘आकांक्षीहरूलाई व्यवस्थापन गरेरै सर्वसम्मत नेतृत्व चयन गराइने छ ।’

माडीमा अध्यक्षका लागि अहिलेका अध्यक्ष प्रभु महतोसहित ओमनाथ पाण्डे र डण्डापाणीले दाबी गरिरहेका छन् । प्रभु बघौडा मध्यवर्ती उपभोक्ता समितिको २ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सचिवसमेत थिए । ओमनाथ तत्कालीन शिक्षामन्त्री स्वर्गीय धनिराम पौडेलको सचिवालयमा काम गरेका व्यक्ति हुन् । पार्टीको राप्ती-लुम्बिनी प्रदेशमा काम गरेका थिए । डण्डपाणी पौडेल जनयुद्धमा घरपरिवार नै सामेल गराएका व्यक्ति हुन् । जनयुद्धका बेला उनले एक छोरालाई गुमाएका छन् ।

रत्ननगर नगरपालिकामा अध्यक्ष ओम लामिछाने, मेयरका उम्मेदवार राजु अम्गाई, तत्कालीन बिग्रेड कमाण्डर दीपक शाही र श्याम बरालको नाम चर्चामा छ । इच्छाकामनामा अध्यक्ष प्रताप गुरुङ, प्रमोद पोखरेल, रामहरी सिलवाल, हरि थापा दाबेदार छन् । खैरहनीमा अध्यक्ष लक्ष्मी ढकाल, रुद्रबहादुर खड्का, रामेश्वर पोखरेल, विमला बराइली, अर्जुन कार्की, ज्ञानु विसुराल छन् । व्यवसायी विसुराल बाहेक सबै जनमुक्ति सेना हुन् ।

कालिकामा अहिलेका अध्यक्ष सरिता लामा, देवीप्रसद ढकाल, बुद्धि पाण्डे, तुलबहादुर विक, नविन बिसी, कर्णबहादुर अग्रे आकांक्षी छन् । उनीहरू पनि पूर्वलडाकु हुन् । राप्तीमा अहिलेका अध्यक्ष रामचन्द्र पाण्डक र मानबहादुर स्याङबो चर्चामा छन् । मानबहादुर घाइते जनमुक्ति सेना हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन इञ्चार्ज इश्वरी भट्टराईका अनुसार चितवनको पालिकास्तरको नेतृत्वमा ४ सय ७९ जना आउँनेछन् । महानगरमा ९९ जना, अन्य ५ पालिकाहरूमा ६५ जना र इच्छाकामना गाउँपालिकामा ५५ जना पदाधिकारीमा आउँनेछन् । भट्टराईले सातवटै पालिकामा आकांक्षी धेरै देखिए पनि सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे ।

‘चितवनका ९८ वडामै सर्वसम्मत नेतृत्व चयन गरेका थियौँ, पालिकामा पनि त्यही अभ्यास हुनेछ’, उनले भने, ‘सकेसम्म आज साँझै नेतृत्व टुंगो लगाइनेछ ।’ भट्टराईका अनुसार भरतपुर महानगरको सम्मेलन भरतपुर विमानस्थलनजिकैको सीजीआर रिसोर्टमा हुनेछ । केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज रेणु दाहालले सम्मेलनको उदघा्टन गर्नेछिन् । बसन्तपुर स्थित माडी क्याम्पसमा हुने माडी नगरसम्मेलनको जिल्ला सहइञ्चार्ज गंगा बेलबासेले उद्घाटन गर्नेछिन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला तथा निर्वाचित क्षेत्र भएकाले चितवनमा नेतृत्वका लागि रस्साकस्सी बढेको छ ।

टाँडी गंगा प्लाजमा हुने रत्ननगर सम्मेलनको जिल्ला इञ्चार्ज इश्वरी भट्टराईले गर्नेछन् । थकाली सेवा समाजको भवनमा हुने इच्छाकामना गाउँपालिका सम्मेलनको प्रदेश सांसद तथा जिल्ला सहइञ्चार्ज घनश्याम दाहाल ‘अविनाश’ र खैरहनी बैंक्वेटमा खैरहनी सम्मेलनको प्रदेश सदस्य रमेश रेग्मीले उद्घाटन गर्ने योजना छ । खोलेसिमलस्थित कालिका बैंक्वटमा हुने कालिका नगरसम्मेलनको केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज ज्ञानु बस्नेतले उदघाटन गर्ने छिन् । प्रदेश सचिवालय सदस्य यमबहादुर परियारले खुरखुरे बजारमा रहेको बैंक्वेटमा राप्ती नगरसम्मेलनको उद्घाटन गर्नेछन् ।

जिल्ला इञ्चार्ज भट्टराईले आयोजकहरूबाहेक वडातहबाट निर्वाचित १ हजार ५ सय ५० प्रतिनिधिहरू नगर सम्मेलनमा सहभागि हुने बताए । उनका अनुसार महानगरबाट ४ सय जना, हरेक ५ स्थानीय तहबाट २ सय गाउँपालिकाबाट १ सय ५० जना सहभागी हुनेछन् ।

पालिकास्तरीय सम्मेलनले प्रदेश सम्मेलन प्रतिनिधि पनि छनौट गर्नेछ । महानगरमा ५२ जना, माडीमा १५, रत्ननगरमा ९, इच्छाकामनामा ३, खैरहनी र राप्तीमा ५/५ जना, कालिकामा ८ जना प्रदेश प्रतिनिधिहरू चयन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर