ओलीलाई नै नेतृत्व लिन आग्रह गरेका छौँः विष्णु रिजाल – Nepal Press
नेपाल टक

ओलीलाई नै नेतृत्व लिन आग्रह गरेका छौँः विष्णु रिजाल

शुक्रबारबाट चितवनमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । उद्घाटन सत्र चितवनको नारायणी किनारमा सम्पन्न भएको छ भने शनिवारदेखि बन्दसत्र सौराहामा सुरु हुनेछ ।

दशौँ महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्ने छ । शनिबारदेखि नै निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गरिएपनि अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।

१५ जना पदाधिकारीका लागि ३ दर्जन बढी उम्मेदवारहरु प्रत्याशी रहेका छन् । केन्द्रीय सदस्य बन्न चाहनेहरुको संख्या अझ धेरै रहेको छ ।

नेताहरुको आकांक्षा बढ्दै जाँदा सहमतिको सम्भावना कमजोर हुँदै गएको बताइन्छ । एमालेको नयाँ नेतृत्व चयनबारे एमाले केन्द्रीय सदस्य विष्णु रिजालसँग गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा–

एमालेमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्छ कि निर्वाचनबाटै आउँछ ?

हामीले दुवै विकल्प खुल्ला राखेका छौँ । अधिकतम रूपमा सहमतिबाट नेतृत्व चयन होस् भन्ने चाहन्छौँ । यसका लागि सबै कमरेडहरूले उदारता देखाउनुभयो भने त्यो असम्भव पनि छैन ।

यदि सहमति भएन भने नेकपा एमाले भित्र प्रतिस्पर्धात्मक लोकतान्त्रिक विधि पनि स्थापित भइसकेको छ । आठौँ राष्टिय महाधिवेशनबाटै हामीले प्रतिस्पर्धाको विधि पनि सुरु गरिसकेका छौँ । सहमति हुन नसकेको अवस्थामा निर्वाचन मार्फत टुङ्गो लगाउँछौँ ।

तपाइलाई अझै पनि सहमति हुन्छ भन्ने लाग्छ ?

तपाईहरू तयारी गर्नुहोस् । सर्वसम्मत हुने अवस्थामा योगदान गर्न र नभए प्रतिस्पर्धामा उत्रिन भनिएको छ । जति पनि मैले प्रतिनिधीहरुलाई भेटेको छु, उहाँहरूको मनमा पनि सके सर्वसम्मति नभए निर्वाचन होस् भन्ने नै छ ।

अध्यक्षका दावेदारद्वय केपी ओली र भीम रावलबीच कुरा मिलेन भने त प्यानलमै चुनाव हुन्छ होला नि ?

केपी शर्मा ओलीले अहिलेसम्म उम्मेदवारी घोषणा गर्नुभएको छैन । हामीले उहाँलाई यो सङ्कटपूर्ण अवस्थामा तपाईले नै नेकपा एमालेको नेतृत्व गर्नुपर्छ भनेर आग्रह गरेका छौँ ।

शीर्ष नेतृत्वको अपेक्षा पनि त्यही छ र आम कार्यकर्ताहरूको पनि अपेक्षा त्यही छ ।

हाम्रो पार्टीको उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेकपा एमाले भित्र केही पनि गर्न पाइँदैन यहाँ ओलीवाद छ भन्ने कुरा होइन रहेछ भन्ने त देखियो नि ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने भनेपछि पार्टी कार्यालयमा स्थान त उपलब्ध गराउनुभएन छ ?

पूर्वाग्रहपूर्ण आरोप हो यो । किनभने निर्वाचन सुरु भएकै छैन । सहमतिबाट नेतृत्व चयन हुन्छ कि निर्वाचनबाट हुन्छ त्यो अझै बाँकी छ । हाम्रो पार्टीमा निर्वाचन आयोग छ ।

निर्वाचन आयोगले कार्यतालिका प्रस्तुत गरेकै छैन । यो अवस्थमा महाधिवेशनमा लाग्नु पर्ने त्यसको तयारीमा जुट्नु पर्ने हो त्यो बेला पत्रकार सम्मेलन पार्टी अफिसमा घोषणा गरेर नेतृत्व चयन हुन्छ र ?

वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म ईश्वर पोख्रेल र सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छ । कसरी व्यवस्थापन होला उहाँहरूको ?

उहाँहरू हाम्रो पार्टीको वरिष्ठतम नेताहरू हुनुहुन्छ । उहाँहरू स्वयं बसेर समझदारी निकाल्नुहुन्छ । तपाइले नाम लिएका वा अरू पनि । त्यसमा पहिलो कुरा हामी स्पष्ट हुन अवश्य छ कि हामी कुन मोडालिटिमा जाने भन्ने कुरा । सहमतिको मोडालिटिमा जाने हो एक प्रकारको निष्कर्ष निस्कन्छ ।

प्रतिस्पर्धाको मोडालिटिमा जाने हो भने अर्काे निष्कर्ष आउँछ । त्यसैले अहिले फलानो फलानो यो पद भन्दा अल्लि हतारो हुन्छ । उहाँहरुले उम्मेदवारीको आधिकारीक घोषणा पनि त गर्नुभएको छैन नि ।

अहिले सहमतिको नाममा नेताहरूलाई पाखा लगाउने काम भएमा गुट परिवर्तनको श्रृखंला सुरु हुने चर्चा पनि चलेको छ नि ?

नेकपा एमालेका नेताहरूलाई त्यस ढङ्गले अवमूल्यन गर्नुहुँदैन । लामो इतिहास भएका नेताहरू हुनुहुन्छ ।

पार्टी भित्रको सहजता र असहजतामा कहाँ उभ्याउने भन्ने कुरा नेताहरू स्वयंको कुरा हो । यद्यपि निश्चित पद नपाएको भन्दै पार्टी परिवर्तन गर्ने वा समूह परिवर्तन गर्ने जस्ता विषयहरू हामी कल्पना पनि गर्न सक्दैनौँ । अहिले फेरी नेकपा एमालेमा कुनै समूह नै छैन ।

अहिले नेकपा एमालेको अध्यक्ष को हुनुपर्छ भन्ने कुरा आम नागरिकलाई सोधे पनि केपी ओलीको विकल्प को छ र भन्छन् ? अहिले एमाले बाहेकका सबै शक्ति मिलेर एमालेलाई प्रहार गरिरहेका बेला हामी हाम्रो नेतृत्वलाई कसरी छोड्न सक्छौँ ?

कुनैबेला ओलीले एउटै कक्षा दोहोरिन्न भन्नुहुन्थ्यो । अहिलेसम्म अध्यक्षमा दोहोरिने घोषणा पनि गर्नुभएको छैन । भीम रावललाई नै अध्यक्ष बनाउने तयारी त होइन ?

अध्यक्ष केपी आलीको मनमा के छ त्यो ठ्याक्कै म भन्न सक्दिन । हिजो मात्रै मैले उहाँसँग भेटघाट गरेको छु । त्यो बेलापनि हामी सबैले उहाँलाई यस पटक एमालेको नेतृत्व तपाईले गर्नुपर्छ, निर्वाचनमा तपाइको नेतृत्वमा देशलाई लैजानु पर्छ र एमालेलाई बहुमत प्राप्त पहिलो शक्तिको रूपमा स्थापित गर्नुपर्छ भनेका छौं । मेरो जस्तो यो लाखौँ नेता कार्यकर्ताहरूका मनसाय हो जस्तो लाग्छ ।

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपेर पनि सहमति हुने चर्चा छ, त्यस्तो तयारी हो र ?

विधान संशोधनबारे एमालेले निर्णय लिइसकेको छ । विगतमा केन्द्रीय कमिटिमा २ जनामात्रै उपाध्यक्ष राख्ने प्रस्ताव आएको थियो । सबैको सुझाव अनुसार त्यसलाई त्यही परिमार्जन गरेका हौ ।

मलाई लाग्छ विधान संशोधनमा हामी प्रवेश गर्दैनौँ । राष्ट्रिय महाधिवेशनले आवश्यक परेको अवस्थमा विधान संशोधन गर्न सक्ने अधिकार त राख्दछ ।

विधान महाधिवेशन गरेको दुई महिना मात्रै भएकोले तत्कालै विधान संशोधन गर्ने कुरा नआउला । नेताहरुको बीचमा समझदारी बनेछ भने केन्द्रीय कमिटीमा प्रस्ताव आएपछि छलफल गरेर अगाडि बढ्न सकिन्छ ।

फरक मत राख्नेहरूलाई बाहिर राखेर वा बञ्चित गरेर कसरी सहमति हुन्छ ? भीम रावल र घनश्याम भुसाललाई त पेलेको देखियो नि !

नेकपा एमालेमा त्यस्तो अवस्था छैन । यहाँ सबैले आ–आफ्नो कुरा राख्न पाइन्छ ।

भीम रावलले स्थायी कमिटीमा राखेको फरक मतको त कुनै वास्ता गरिएन नि ?

केन्द्रीय कमिटीमा कुनै फरक मत आएकै छैन । राष्ट्रिय महाधिवेशनमा कुनै फरक मत आएको छैन ।

पार्टी कार्यकर्ता भएको हिसाबले र म भएको आधिकारिक कमिटीको हैसियतले यति मात्रै भन्न सक्छु ।

देशभर प्रतिनिधि छनोट गर्दा पनि त एउटा पक्षलाई त पुरै निषेध गरियो । कैलाली क्षेत्र नम्बर २ को विषय चर्चामा आउदापनि सम्बोधन भएन, के भन्नुहुन्छ ?

देशभरी प्रतिनिधि छान्दा कहीँ कतै असन्तुष्टि आएपछि हामीले त्यसलाई राष्ट्रिय विषय बनाउनु हुँदैन । त्यहाँको विषयमा पार्टीले अस्ति १ सय ६ जना मनोनीत गर्दा पनि केही सम्बोधन गरेको छ ।

अन्तिममा, तपाइको उम्मेदवारी कुन पदमा हुन्छ ?

म अहिले पार्टीको केन्द्रीय कमिटिको सदस्य छु । विदेश विभागको उपप्रमुख छु । २०७५ जेठ ३ पछिको एकता पछि म केन्द्रीय कमिटीमा थपिएको हु । यो राष्ट्रिय महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन चाहन्छु ।
मलाई विश्वास छ आम प्रतिनिधि कमरेडहरूले मैले गरेको यो आसालाई साथ दिनुहुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर