महाधिवेशनबाट फर्किन मारामार, एम्बुलेन्ससमेत जाममा फसे – Nepal Press

महाधिवेशनबाट फर्किन मारामार, एम्बुलेन्ससमेत जाममा फसे

चितवन । नेकपा एमाले १० औं महाधिवेशनको उद्घाटन सत्र सकिएपछि घर फर्किनेको लर्को लागेको छ ।

एमाले महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरुको भिडका कारण घर फर्किनेहरु समस्यामा देखिएका छन् ।

खासगरि नारायणी नदिको पुल तरेर पश्चिमका जिल्ला जानेहरु जान सकिरहेका छैनन् । पुलमा ठुलो संख्यामा मानिसहरु भएपछि समस्या देखिएको छ ।

जाममा दर्जनौँ विरामी बोकेका एम्बुलेन्स फसेका छन् । यस्तै निजी सवारी पनि जान पाएका छैनन् ।

ओली पनि जाममा

१०औं महाधिवेशनबाट होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली पनि जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् ।

उनी चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ ।

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीपनि ढीला गरी पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर