सकियो १२ औं जनगणना, कहाँ–कहाँ पर्‍याे फसाद ? – Nepal Press

सकियो १२ औं जनगणना, कहाँ–कहाँ पर्‍याे फसाद ?

काठमाडौं । विभिन्न चुनौति र व्यवधानहरु झेल्दै १२ औँ राष्ट्रिय जनगणना २०७८ को मुल गणना कार्य सकिएको छ । ‘मेरो जणना मेरो सहभागिता’ को नारासहित २५ कात्तिकबाट शुरु भएको जनगणना बिहीबारदेखि सकिएको हो ।

जनगणनाको अन्तिम दिन सडकमा जीवनयापन गर्ने घरबारविहीन तथा छुटपुटहरुको गणना गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु गरिएको गणना कार्यमा देशैभर ४० हजार गणक तथा ८ हजार ५ सय सुवपरिवेक्षक खटिएका थिए । कोभिड १९ को विश्वव्यापी महामारीले गर्दा पूर्वनिर्धारित समयभन्दा करिब ५ महिना ढिलोगरी जनगणना भएको हो ।

जिल्ला जनगणना कार्यालयमा संकलन भएका तथ्यांकहरु मंसिर अन्तिम साता केन्द्रमा आइपुग्नेछ । आगामी पुस महिनादेखि विभागको डाटा सेन्टरमा जनगणनाको विवरण प्रशोधन शुरू गरी करिब ३ महिनापछि प्रारम्भिक नतिजा तथा १ वर्षपछि क्रमशः अन्तिम नतिजा र अन्य विषयगत प्रतिवेदनहरु प्रकाशन गर्ने तयारी विभागबाट भइरहेको छ ।

यसपटकको जनगणनामा २ करोड ८० लाख देखि ३ करोडको हाराहारी जनसंख्या पुग्ने अनुमान गरिएको छ । जन्मदर घट्दै गएकाले पनि जनसंख्या घटेको विभागले जनाएको छ । विभागका महानिर्देशक श्रेष्ठका अनुसार प्रदेश २, सुदुरपश्चिम र कर्णाली प्रदेशमा जन्मदर बढी देखिएको छ भने बाग्मती प्रदेशमा सबैभन्दा कम देखिएको छ ।

छाङरु र टिङ्करमा हेलिकोप्टर प्रयोग

विभिन्न कारणले यस पटकको जनगणना खास रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । नेपालको भूभाग भित्रका तराई, पहाड र हिमालका सम्पूर्ण स्थानहरुको गणना सम्पन्न गरिसकेको र केही विवादित क्षेत्रहरुमा कुटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने उनको भनाइ छ ।

दार्चुलाको छाङरु र टिङ्करमा गणक आफै पुगेर गणना गरिएको भएता पनि कालापानी–लिपुलेक क्षेत्रमा भारतले प्रवेश गर्न नदिएपछि टेलिफोन इन्टरनेटबाट तथ्यांक संकलन भइरहेको उनले बताए । उनले भने, ‘त्यसठाउँमा हामी घरसंख्या गनेर त्यही अनुसार परिवार संख्या निकाल्दै छौं । ८० वटै प्रश्नको जवाफ त पाउँदैनौ । त्यही पनि उहाँहरु छुट्नुहुन्न ।’

छाङरु र टिंकर बस्ति पुग्न नेपालतर्फ बाटो छैन । भारतले आफ्नो बाटो भएर उक्त क्षेत्रमा जान सहमति नदिएपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीसहित ३ जना उक्त स्थानमा पैदल हिँडेका थिए । उनीहरुमध्ये १ जना हिँड्न नसकेर बीच बाटोबाट फर्किए भने बाँकी २ जना ३ दिन लगाएर उक्त क्षेत्रमा पुगेर जनगणना गरेका थिए । उनीहरुलाई सेनाको हेलिकप्टरमार्फत खलङ्गा ल्याइएको थियो ।

जनगणनाकै क्रममा दोलखाको विगु गाउँपालिका वडा नं. १ स्थित चीनको बोर्डरमा रहेको लप्ची गाउँमा पुग्न गणकलाई सकस परेको थियो । जंगलमा २ रात बास बसेर गणकहरु त्यहाँ पुगेका थिए । पहाडको ढुंगामा खोपेर बनाएको बाटोमा डोरीमा समातेर हिँड्नुपरेको थियो ।

कायत जातिको विरोध

जनगणनाका अरु पनि व्यवधानहरु आएका थिए । बाग्लुङको ढोरपाटन नगरपालिका ९ मा बसोबास गर्ने कायत जातिले जनगणनामा भाग नलिने भन्दै बहिष्कारको घोषणा गरेका थिए । २०६८ सालको जनगणनामा आफूहरुलाई अलग जातको रुपमा उल्लेख नभएकोमा उनीहरुको असन्तुष्टि थियो । जिल्ला जनगणना कार्यालयले उनीहरुलाई कायत जाति कायम गर्न विभागमा जानकारी गराउने मौखिक सहमति गरेपछि उनीहरु पुनः जनगणनामा सहभागी भए ।

तीनजनाको मृत्यु

जनगणना गर्ने क्रममा कैलाली जिल्लामा एक जना सुपरिवेक्षक, धादिङ र रसुवा जिल्लाहरुमा क्रमशः एक–एक जना गणकको मृत्यु भयो । धादिङमा एक गणकले आत्महत्या गरेका थिए । कैलालीका सुपरिवेक्षकको हृदयघाटबाट मृत्यु भएको थियो भने रसुवामा गणना गर्न गएका गणक भीरबाट लडेर ज्यान गयो । गणकको बीमा गरिएकाले मृतकको परिवारलाई विमाबापत ५ लाख क्षतिपूर्ति दिने प्रक्रिया शुरु भएको विभागले जनाएको छ ।

यौंनिक अल्पसंख्यक खुलेनन्

यौनिक तथा अल्पसंख्यक समूदाय मुल जनगणनामा खुलेर नआएको तथ्यांङ्क विभागले जनाएको छ । परिवारका सदस्यले पनि खुलेर यौनिक तथा अल्पसंख्यक सन्तानको बारेमा नबताएको र उनीहरु पनि खुल्न नसकेको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘परिवारको एकजना सदस्यसँग परिवारको बारेमा जानकारी लिनुपर्ने हुन्छ । तेस्रोलिङ्गीको लागि छुट्टै कोठामा वा परिवारको एक–एक सदस्यलाई सोध्ने कुरा पनि भएन । त्यसैले उनीहरुको एकीन विवरण पाउन सकिएन ।’

श्रेष्ठका अनुसार यस्ता यौंनिक तथा अल्पसंख्यक नागरिकको छुट्टै गणना गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘परिवारका सदस्यले खुलेर बताउन नचाहँदा हामीसँग अरु विकल्प छैन ।’

८० वटा प्रश्न सोधिएन

विभागले उत्तरकर्तालाई सोध्नको लागि ८० वटा प्रश्नावली तयार पारेको थियो । जनगणनाको क्रममा अन्य देशमा थोरै प्रश्न मात्रै सोध्ने गरिएता पनि नेपालमा भने लामो प्रश्नावली बनाइएको थियो ।

विभागका महानिर्देशक श्रेष्ठ भन्छन्, ‘हामीसँग प्रशासनिक अपडेट नभएकाले पनि सबैको तथ्याङ्क संकलन गर्न यति धेरै प्रश्न राखिएको हो ।’

तर जनगणना गर्न पुगेका गणकले धेरैमा १० वटा मात्रै प्रश्न सोधेको उत्तरदाताको गुनासो छ । विभागका महानिर्देशक भने सबै प्रश्न सोध्न नपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘यसअघि पहिलो चरणमा नै घर सूचीकरण गर्न पुगेका सुपरिवेक्षकले २५ वटा प्रश्न पहिल्यै सोधिसकेका थिए । त्यसैले धेरै प्रश्नहरु स्किप भए ।’

सबैको हकमा ८० वटै प्रश्न लागू नहुने पनि उनले बताए ।

छुटपुटको गणना हुने

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणनाको मुल कार्य सम्पन्न गरिए पनि अहिले छुटेकाहरुलाई फेरि सहभागी गराइएको विभागका महानिर्देशक श्रेष्ठले बताए ।

उनले भने, ‘हिजोसम्म पनि गणना हुनबाट छुटेकाहरुको गणना भइरहेको छ । हामीलाई फोन गरेर आफ्नो घरमा वा टोलमा गणक नआएका सूचना दिनुभयो भने हामी पठाउछौं ।’

उनका अनुसार काठमाडौं उपत्यकामै यस्तो समस्या देखिएको छ । गणकहरु नै यो कसको एरियाभित्र पर्छ भनेर छुट्याउन नसक्दा र बिहानदेखि बेलुकासम्म परिवारका सदस्य नभेटेकाको अहिले पनि गणना भइरहेको छ । उनीहरुको ४/५ दिनसम्म गणना गरिनेछ । महानिर्देशक श्रेष्ठले आफ्नो घरमा गणक नपुगेको खबर गरेर आफैं सचेत भएको देख्दा खुसी लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *