कांग्रेस महाधिवेशनमा देखिने चर्चित सात जोडी ! – Nepal Press

कांग्रेस महाधिवेशनमा देखिने चर्चित सात जोडी !

काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनको रौनक छ । अधिकांश जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशनको रौनक चलिरहँदा कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनको कामले तिव्रता पाइरहेको छ ।

यसैबीच कांग्रेसको आगामी महाधिवेशनमा ‘जोडी महाधिवेशन प्रतिनिधि’ धेरै देख्न पाइने भएको छ । सभापति शेरबहादुर देउवादेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहसम्मको जोडी कांग्रेस महाधिवेशनमा देखिनेछन् । कांग्रेसका अधिकांश केन्द्रीय नेताका पति वा पत्नी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । यहाँ हामीले केही जोडी महाधिवेशन प्रतिनिबिारे चर्चा गरेका छौं ।

शेर-आरजु

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा डडेलधुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । संस्थापनइतर पक्षले बहिष्कार गरेपछि भएको एकपक्षीय अधिवेशनबाट देउवाको जोडी नै महाधिवेशनमा निर्वाचित भएको हो । संविधानसभा सदस्य रहीसकेकी आरजुलाई आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासीको रूपमा हेरिएको छ । देउवा भने दोस्रो कार्यकालका लागि सभापति लड्दैछन् ।

प्रकाश-सिर्जना

कांग्रेस सभापतिका दाबेदार पूर्वमहामन्त्री प्रकाशमान सिंह स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । उनकी पत्नी सिर्जना सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएकी छिन् । सो क्षेत्रबाट प्रकाश-सिर्जनाका छोरा प्रभासमान सिंहपनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कुनैबेला पीके क्याम्पसमा नेविसंघको सक्रिय राजनीति गरेकी सिर्जना यसपटक पार्टी राजनीतिमा फर्किएकी छिन् । उनलाई प्रकाशमानको नेतृत्व रेसको महत्वपूर्ण सारथी मानिन्छ ।

रामशरण-रोशना, प्रकाश-बीना

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण कांग्रेस केन्द्रीय सदस्यको हैसियतमा १४ औं महाधिवेशनमा स्वतः प्रतिनिधि छन् । महतकी पत्नी रोशना महत थापा भने नुवाकोटबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । केन्द्रीय राजनीतिमा दुई धारमा बाँडिएपनि नुवाकोटमा महत दाजुभाइबीच गठबन्धन भएको छ ।

सह महामन्त्री डा.प्रकाशशरण महत स्वतः महाधिवेशन प्रतिनिधि रहनेछन् । उनकी पत्नी बीना महत नुवाकोटबाटै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

प्रदीप-एञ्जिला

कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका केन्द्रीय सदस्य प्रदीप पौडेल स्वतः र उनकी पत्नी एञ्जिला न्यौपाने रामेछापबाट महाधिवेशन प्रतिनिधि रहेका छन् । प्रदीप नेविसंघको अध्यक्ष छँदा पीके क्याम्पसमा नेविसंघको राजनीतिमा सक्रिय रहेकी एञ्जिला रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् । प्रदीप महामन्त्रीको उम्मेदवार रहँदा एञ्जिलालाई पनि केन्द्रीय सदस्यको सम्भावित प्रत्यासीका रूपमा लिइएको छ ।

पुष्पा-चोपलाल

नेपाली कांग्रेसकी सचेतक एवं केन्द्रीय सदस्य पुष्पा भुसाल स्वतः महाधिवेशन प्रतिनिधि छिन् । उनका पति डा.चोपलाल भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पूर्वराजदूतसमेत रहेका चोपलाल यसपटकदेखि कांग्रेस केन्द्रीय राजनीतिमा आउन चाहेका छन् । भुसाल भने सहमहामन्त्री पदको आकांक्षी रहेकी छिन् ।

प्रकाश-झल

कांग्रेस सांसद प्रकाश रसाईली बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनकी पत्नी झल विश्वकर्मा भने नवलपरासी क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् । नेविसंघ नेतृसमेत रहेकी अधिवक्ता झल र प्रकाशको जोडीलाई यसपटक कांग्रेसको महाधिवेशनमा देख्न पाइँनेछ । प्रकाश केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका छन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस महाधिवेशनमा देखिने चर्चित सात जोडी !

  1. यो क्रियाकलाप बाट पार्टी कम्जोर कि बलियो ?

Leave a Reply to गोबिन्द कोइराला Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर