विश्वकप एसिया छनोटः मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी – Nepal Press

विश्वकप एसिया छनोटः मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसिया छनोटको चौथो खेलमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामाथि ६ विकेटको जित निकालेको छ । शुक्रबार दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर फिल्डिङ रोजेको नेपालले ९३ रनको लक्ष्य पाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८‍‍‍.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ३० तथा रुबिना क्षेत्रीले २० रन जोडिन् ।

यस्तै सरिता मगरले अविजित १५ तथा कविता कुँवरले १० रनको योगदान गरिन् । मलेसियाका लागि ऐस्या एलीसाले १ विकेट लिइन् । बाँकी तीन विकेट नेपालले रन आउटमा गुमाएको थियो ।

आइसीसी एकेडेमी दुबइमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो । मलेसियाका लागि इल्सा हन्टरले ४८ बलमा ४ चौकासहित सर्वाधिक ३९ रन जोडेर अविजित रहिन । युस्रिना याकोपले २५ बलमा १२ रन, मास इलेसाले २१ बलमा १४ रन जोडे ।

अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालको बलिङमा सबनम राइले सर्वाधिक २ विकेट लिइन भने कबिता कुँवरर्, , सिता राना मगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए । यसअघि तीनमध्ये दुई खेल जितेको नेपाली टोलीलाई ग्लोवल क्वालिफायरमा पुग्ने आशा जीवितै राख्नका लागि मलेसियालाई हराउनै पर्नेछ । प्रतियोगितामा एकमात्र अपराजित टोली युएईले आज कुवेतसँग खेल्दैछ ।

आज मलेसियालाई पराजित गरी आइतबार हुने आफ्नो अन्तिम खेलमा युएईलाई हराएमा नेपाल ऐतिहासिक रुपमा ट्वान्टी–२० विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नेछ । नेपालले अहिलेसम्म एसिया क्वालिफायर पार गर्न सकेको छैन ।

यसअघि थाइल्याण्डले नेपालको चुनौति समाप्त गर्दै आएको थियो । थाइल्याण्ड सिधै ग्लोवल क्वालिफायरमा पुगेका कारण धेरै आशासहित युएई पुगेको नेपाल पहिलो खेलमै हङकङसँग पराजित भएको थियो । त्यसपछि भुटानलाई ८ र कुवेतलाई ९ विकेटले हराएर नेपालले आफ्नो आशा कायमै राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *