राष्ट्र बैंकले गर्‍यो आयातमा कडाइ, एलसी खोल्दा नगद मौज्दात राख्नैपर्ने – Nepal Press

राष्ट्र बैंकले गर्‍यो आयातमा कडाइ, एलसी खोल्दा नगद मौज्दात राख्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैयमासिक समिक्षा गर्दै बढ्दो आयातमा कडाइ गर्ने नीति लिएको छ ।

वस्तु आयातका लागि प्रतिपत्र ‘एलसी’ खोल्दा अनिवार्य रुपमा बैंकमा नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

बढ्दो आयातका कारण विदेशी सञ्चितिमा दबाब परेपछि एलसी खोल्दा अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको मौद्रिक नीतिको समिक्षा मार्फत भनिएको छ ।

यसअघि एलसी खोल्दा आयातकर्ताले फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र,नेपाल राष्ट्र बैंकले प्रदान गरेको विविनि फारम र प्रोफर्मा इन्भ्वाइस वा करारपत्र लगायतका कागजात बैंकमा धितोको रुपमा राखेर एलसी खोल्न पाउने व्यवस्था रहेको थियो ।

उक्त कागजातमा आयात गर्न चाहेको वस्तुको नाम, ब्रान्ड र मोडेल नम्बर, वस्तु उत्पादन गर्ने मुलुक, एकाइ मूल्य, परिमाण, जम्मा मूल्य,सिआइएफ, एफओबी, सिएफआर कागजात, भुक्तानीको किसिम, कम्तीमा आठ अंकको हार्मोनिक कोड, आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन लागायतका विवरणहरु खुलाउनुपर्ने हुन्छ ।

उक्त कागजातका साथै आयाकर्ताले अब अनिवार्यरुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपनि कति नगद मार्जिन राख्ने भन्ने प्रस्टरुपमा खुलाइएको छैन ।

यसैगरी ड्राफ्ट/टि.टिको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्रै चाँदी आयात गर्नका लागि सटही सुविधा प्रदान गरिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर