‘संघीयताको मर्मअनुसार कर्णालीले सचिव पाउँनुपर्छ’ – Nepal Press

‘संघीयताको मर्मअनुसार कर्णालीले सचिव पाउँनुपर्छ’

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र केहीबेरमा सुरू हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने पनि उत्तिकै छन् ।

भूगोलबाट प्रतिनिधित्वको कुरा पनि त्यत्तिकै उठेको छ । अहिलेसम्म स्थायी कमिटी सदस्यसमेत नपाएको भन्दै कर्णालीले यो महाधिवेशनमा पदाधिकारीको दाबी गरिरहेको छ । गएको प्रदेशसभाको निर्वाचनमा ४० मध्ये एमाले एक्लैले २० सीट जितेको थियो ।

नेता यामलाल कंडेललाई सचिव बनाउन कर्णालीका एमाले नेता-कार्यकर्ताले माहोल बनाइरहेका छन् । हाल केन्द्रीय सदस्य रहेका वा केन्द्रीय सदस्यमा उम्मेदवार बन्न इच्छुकहरुले कर्णालीले पदाधिकारी पाउनुपर्ने लबिङसहित नेताहरूलाई दबाब दिइरहेका छन् ।

महाधिवेशनको तयारी, उम्मेदवारी र सम्भावना बारेमा नेपालप्रेसले एमाले कर्णालीका सहसंयोजक, पूर्वमन्त्री कंडेलसँग कुराकानी गरेको थियो । कुराकानीको सारसंक्षेप उनकै शब्दमाः

अधिकांश प्रतिनिधिहरू महाधिवेशनस्थल आइसक्नु भएको छ । आज खुला सभामा सबै भूगोलको प्रतिनिधित्व हुने गरी लाखौं सहभागी हुनेछन् । अहिलेको परिस्थितिमा सबैको ध्यान आकृष्ट गर्ने गरी नेकपा एमालेलाई एकताबद्ध र सुदृढ गर्ने क्रममा यो महाधिवेशन ऐतिहासिक बन्नेछ ।

नेपाली राजनीति अहिले दुई ध्रुवमा विभाजित भएको छ । एमाले एक ठाउँमा छ त्यसको नेतृत्व केपी ओलीले गर्नुभएको छ । अर्को गठबन्धनवालाको नेतृत्व शेरबहादुर देउवाले गर्नुभएको छ । एमालेले राम्रो काम गर्दै गर्दा पनि आग्रह, पूर्वाग्रह र स्वार्थका लागि गठबन्धन एक ठाउँमा उभिएको अवस्थामा नेकपा एमालेका आठ लाखभन्दा बढी कार्यकर्ताले सुझबुझका साथ अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । सर्वसम्मतरूपमा छनोट भएका प्रतिनिधिहरूको राष्ट्रिय महाधिवेशन हुँदा त्यसको सर्वसम्मतको छाप नेकपा एमालेको भोलिदेखिको बन्द सत्रमा पर्छ

नेकपा एमाले सबै नेता कार्यकर्ता सबै तहको जिम्मेवारी निर्वाह गर्न सम्ने क्षमता भएको पार्टी हो । महाधिवेशनको पूर्वसन्ध्यामा कसैले उम्मेदवारी दिने वा कुनै पदको आकांक्षी हुने कुरालाई अन्यथा लिनुपर्छ जस्तो मलाई लाग्दैन । तर, इच्छा प्रकट गर्दागर्दै पनि नेकपा एमालेको दायित्व र कार्यकर्ताको कर्तव्य पूरा गर्नका लागि जसरी पार्टी सदस्यले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । त्यसै अनुसार आएका प्रतिनिधिहरूले पनि सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने कुरामा मलाई लाग्छ, हामी सबै एक ठाउँमा पुग्छौं । कतिपय कुरा परिस्थितिले महसुस गराउँछ । कतिपय आफूले चाहेको पद थाती राखेर भएपनि एमालेलाई एकताबद्ध बनाउने, सुदृढ बनाउने काममा लाग्नुपर्ने अवस्था हुन्छ ।

जहाँसम्म कर्णाली नेतृत्व तहमा आउने बारेमा भन्दा त्यहाँबाट आएका प्रतिनिधि, केन्द्रीय सदस्यहरुको एकमतले पार्टी अध्यक्ष र उपाध्यक्षमा दाबी छैन । नवौं महाधिवेशनमा पदाधिकारीमा नपरेको कर्णालीले यसपाली नीति निर्णय गर्ने तहमा कर्णाली पुर्‍याउनुपर्छ भन्ने निर्णयमा हामी पुगेका छौं । पात्रको कुरा भन्न अहिले अलि हतारो हुन्छ ।

पदाधिकारीमा हामी एकजनाले मात्रै गर्छौं कसले गर्छ त्यो समयक्रममा तपाईले थाहा पाउनुहुन्छ । सदस्यमा इच्छा राख्ने साथीहरुको संख्या उल्लेख्य छ । अहिले नै यकिन गरेर म त्यो संख्या बताउन सक्ने अवस्था रहेन । हामी छलफलकै क्रममा रहेका छौं । एकजनाले सचिव पदमा दाबी गर्छौं । देशभरीबाट आएका साथीहरूले पनि त्यो कुरा महसुस गर्नुहुन्छ । नेकपा एमालेको विधान महाधिवेशनबाट ठूलो संख्यामा पदाधिकारीको व्यवस्था गरेका छौं ।

मुलुक संघीय ढाँचामा गएका कारण सात प्रदेशलाई सम्झिएर पदाधिकारीमा कर्णाली समेटिने नीति आउँछ होला । नआए कर्णालीका तर्फबाट ध्यानाकर्षण गराउनुपर्ने अवस्था हुन्छ । विधान अधिवेशनले जुन संख्या टुंगो लगाएको छ त्यो मुलुकभरका सबै प्रतिनिधिले सातै प्रदेश समेट्नका लागि आवश्यक व्यवस्था गरिएको हो । फेरि पनि विनम्रतापूर्वक म आग्रह र अनुरोध गर्न चाहन्छु, जहाँसम्म कर्णालीले बेला बखतमा विषयगत मुद्दाहरू उठाएको छ । त्यो साँचो कुरा हो ।

नेकपा हुँदा पनि मुद्दा उठायौं । प्रदेश सरकार सञ्चालनका विषयमा पनि हामीले मुद्दा उठायौं । नेकपा एमाले निर्माणका विषयमा पनि कुरा उठाएका छौं । आज नेकपा एमालेको दशौं महाधिवेशन भइरहँदा प्रतिनिधि, एमालेका नेताहरू सबैको ध्यानाकर्षण पनि गराइरहेका छौं । केही नेताहरुले यसबारेमा सकारात्मक धारणा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर