चैत्र मसान्तसम्म सबैलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने केन्द्रीय अनुगमन समितिको निर्णय – Nepal Press

चैत्र मसान्तसम्म सबैलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने केन्द्रीय अनुगमन समितिको निर्णय

मेलम्ची खानेपानी आयोजनाको पुननिर्माण कार्य पनि अघि बढाइने

काठमाडौं । चैत मसान्तसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले निर्णय गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा बुधबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नियमित रुपमा बजार अनुगमन गर्ने, खानेपानी आपूर्ती प्रणालीलाई सुनिश्चित गर्दै पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुननिर्माण कार्य अघि बढाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णबहादुर राउतले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुासर बैठकले धानवाली क्षतिको राहत वितरण कार्यलाई समयावद्ध बनाई कार्यान्वयन गर्ने, बिषयगत मन्त्रालयले कार्यक्षेत्रको सेवा सुधारको कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने, देशका ठूला सहरमा विकास र सेवा प्रवाहलाई अन्तर निकाय समन्वय सुदृढ गर्ने समितिको बैठकले निर्णय गरेको छ ।

बैठकमा वर्तमान सन्दर्भमा विकास र सेवा प्रवाह सुधार, विद्यमान आपूर्ति व्यवस्थाको स्थिति समीक्षा, बजार अनुगमनको प्रभावकारिता लगायत विकास निर्माण कार्यहरुमा पहिचान गरिएका समस्याको समाधानसहित कार्यान्वयनलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको थियो । समितिको बैठकमा मुख्य सचिवले केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिबाट भएका निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन सम्वन्धित सवै मन्त्रालय तथा निकायलाई निर्देशन दिएका थिए ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, कृषि तथा पशुपन्छी विकास, उर्जा, जलस्रोत तथा सिंचाई, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण मन्त्रालयका सचिव, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, सहरी विकास मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर