महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको आग्रह – Nepal Press

महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं । महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले अभियानको सुभारम्भ भएको दिनको अवसर पारेर एक विज्ञप्ती जारी गर्दै घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न र ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्न आयोगले आग्रह गरेको पनि जनाएको छ ।

विभिन्न समाचार माध्यम र आयोगमा प्राप्त महिला हिंसा सम्बन्धी उजुरीको आधारमा विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकोले घरभित्र हुने महिला हिंसाको अन्त्य हुन सकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने आयोगले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसाको अवस्था, स्वरुप, कारण र न्यूनीकरणका उपायलगायतका विषयमा केन्द्रित भएर अनुगमन तथा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने पनि आयोगका प्रवक्तासमेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै, घरेलु हिंसाको न्यूनीकरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाईसमेत आयोगले आग्रह गरेको छ ।

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ बिहीबारबाट महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर–१० डिसेम्बर) सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग यस अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *