यी मजदुर नेता जसले उभ्याए नारायणीको बगरमा शानदार मञ्च (तस्वीरहरुसहित) – Nepal Press
एमाले महाधिवशन

यी मजदुर नेता जसले उभ्याए नारायणीको बगरमा शानदार मञ्च (तस्वीरहरुसहित)

५० लाख खर्चेर बनाइएको मञ्च कस्तो छ ?

चितवन। एमाले नेता विनोद श्रेष्ठ एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदका आकांक्षी हुन् । तर, अहिले उनको व्यस्तता प्रतिनिधिहरुसँग भोट माग्नेभन्दा महाधिवेशनको मञ्च तयार गर्नेमा छ ।

महाधिवेशनको उद्घाटन र बन्दसत्र आयोजना हुने मञ्च तथा अस्थायी संरचना निर्माणको अगूवाइ श्रेष्ठले गरिरहेका छन् । उनी केही दिनदेखि अहोरात्र मञ्चको व्यवस्थापनमा खटिएका छन् । मंसीर १ गतेदेखि चितवनमा अड्डा जमाएका उनी बिहान ४ बजेदेखि राती १२ बजेसम्म महाधिवेशनस्थलमा व्यस्त रहन्छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का केन्द्रीय अध्यक्ष हुन् श्रेष्ठ । उनी एमालेको बहालबाला केन्द्रीय सदस्य पनि हुन् । दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका उनी मजदुर फाँटबाट केन्द्रीय राजनीतिमा प्रवेश गरे ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा उनको स्थायी बसोबास छ । १० औँ राष्ट्रिय महाधिवेशनमा स्वयम्सेवक परिचालन समितिको संयोजक छन् उनी ।

श्रेष्ठलाई आफु फेरि केन्द्रीय सदस्यमा निर्वाचित हुनेभन्दा पनि मञ्च निर्माणको काम समयमा सिध्याउने बढी चिन्ता छ । यो काममा उनी अनुभवी पनि हुन् ।

‘विगतका महाधिवेशनमा १ महिनासम्म भिड्नुपर्दथ्यो,’ नेपाल प्रेससँग उनले भने, ‘अहिले १० दिनमै आकर्षक संरचना र व्यवस्थापन सफल पार्न लाग्यौँ ।’

पुल्चोक इञ्जिनियरिङ क्याम्पसका पूर्व डिन डा. प्रोफेसर राजिव पहारी, डिजाइनर महेन्द्र श्रेष्ठ पनि मञ्चलाई आकर्षक बनाउन लागिपरेका छन् ।

‘खोलाको बगरमा पनि भव्य मञ्च बनाउन सम्भव छ भनेर देखाएका छौँ,’ श्रेष्ठले भने, ‘खाल्डाखुल्डी सम्याएका छौँ, दुईवटा स्थायी सेल्फी प्वाइन्ट उपहारका रुपमा छाड्ने छौँ ।’ प्रविधिमा आएको परिवर्तनले आकर्षक मञ्चहरु बनाउन सहज भएको उनी बताउँछन् ।

‘पहिले काठ, बाँसहरु बाँधेर स्टेज बनाउनु पर्दथ्यो, यसपाली फलाम र आल्मुनियम जोडजाड गरेर मजबुत स्टेज बनाउने प्रविधि प्रयोग गरेका छौँ,’ उनले भने, ‘एमाले प्रविधि प्रवद्र्धनमा सँधै लागिपर्छ ।’

विगतदेखि एमालेले गर्ने ठुला कार्यक्रमहरुको मञ्च व्यवस्थापनमा खटिएको अनुभव श्रेष्ठसँग छ । उनले एमालेका पाचौं महाधिवेशनदेखि नै लगातार मञ्च निर्माणको नेतृत्व लिएका थिए ।

काठमाडौंको दशरथ रंगशालामा भएको पाचौंँ महाधिवेशन, नेपालगञ्जमा भएको छैटौँ महाधिवेशन, जनकपुरमा भएको ७ औँ महाधिवेशन, बुटवलमा भएको ८ औँ महाधिवेशन र काठमाडौंको भृकुटिमण्डपमा भएको नवौँ महाधिवेशनमा मञ्च बनाउने काम श्रेष्ठको अगूवाईमा भयो । दसौं महाधिवेशनमा पनि एमालेले उनको विकल्प देखेन ।

आजै राति मञ्च निर्माणको सबै काम सक्ने योजनामा छन् श्रेष्ठ ।

‘राती ९ बजेसम्म सबै काम पुरा हुदैछ,’ उनी भन्छन् ।

श्रेष्ठका अनुसार मञ्चमा करिब ५ सयजना अटाउने छन् । टाढा बसेका दर्शकले पनि मञ्चका अतिथिहरुलाई हेर्न र सुन्न सक्ने गरी डिजाइन गरिएको छ ।

छैटौँ महाधिवेशनको मञ्चमा कपडाको व्यानर राखिएको थियो । ७ औँ महाधिवेशनदेखि फ्लेक्स प्रिन्टका व्यानरहरु प्रयोग गर्न थालियो ।

‘पहिले ब्यानर बनाउनै महिनौँ लाग्थे, अहिले अर्डर भएकै केही दिनमा भनेजस्तो व्यानर बन्छ,’ उनले भने, ‘लेखिएका अक्षर मेटिने, कपडा च्यातिने डर पनि हटेको छ, काम गर्न पनि सहज भएको छ ।’

उनका अनुसार यसपाली मञ्च व्यवस्थापनमा करिब ५० लाख खर्च हुनेछ ।

‘जुन जिल्लामा महाधिवेशन हुन्छ, त्यही जिल्लाको पहिचान झल्काउने व्यानरहरु प्रयोगमा ल्याउँदै आएका छौँ,’ उनले भने, ‘चितवनको चिनारी वाइल्ड टुरिजम हो, त्यसैले लोपोन्मुख जनावरका चित्रहरु राखेका छौँ ।’

मञ्च निर्माणमा ५ सय जना स्वयसेवक खटिएका छन् । उद्घाटनसत्रमा ५ हजार स्वयमसेवक परिचालन हुनेछन् । मञ्च ४ खण्डको छ । मुख्य खण्ड १६ फिट अग्लो छ । आर्क डिजाइनमा बनाइएको मञ्च झट्ट हेर्दा रंगशाला जस्तो बनेको छ ।

तस्बिरहरु : उमेश कार्की र सरजु वैजु 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर