वैदेशिक लगानीमा ५ करोडको सीमा हटाउने सरकारको तयारी, के भन्छ निजी क्षेत्र ? – Nepal Press

वैदेशिक लगानीमा ५ करोडको सीमा हटाउने सरकारको तयारी, के भन्छ निजी क्षेत्र ?

काठमाडौं । सरकारले विदेशी लगानीमा न्यूनतम ५ करोड रुपैयाँको सीमा हटाउने तयारी गरेको छ । वैदेशिक लगानी अभिवृद्धि गर्ने उद्देश्यले यो सीमा हटाउन लागिएको हो ।

हाल नेपालमा कुनै विदेशी कम्पनी वा व्यक्तिले लगानी गर्दा ५ करोड रुपैयाँ न्यूनतम खर्च गर्नुपर्ने प्रवाधान रहेको छ । ५ करोड रुपैयाँभन्दा कम वैदेशिक लगानीका उद्योग नेपालमा दर्ता नै हुँदैनन् ।

७ औं उद्योग दिवसको कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले सरकारले विदेशी लगानीको सीमा घटाउन लागेको बताए ।
उनले भने, ‘वैदेशिक लगानीमा ५ करोडको सीमा हटाउने सरकारले तयारी गरेको छ । लगानीको पुँजी मात्रै नहेरेर प्रविधि हेरेर नयाँ सीमा निर्धारण गर्नेछौं ।’

विशेष अर्थिक क्षेत्र (सेज) स्थापना भए पनि उद्योगहरु नभएकाले सीमा घटाउन सरकार लागेको उनले बताए । चीन र भारतले सेजको माध्यमबाट नै उद्योग स्थापना वृद्धि गरेपनि नेपालको सेजको भने अवस्था खराब रहेको छ । सेजमा उद्योग स्थापना नभएर सरकारले भाडा घटाउने कुरा समेत गर्दै आएको छ ।

नेपालीहरुले स्वदेशीभन्दा विदेशी उत्पादनलाई प्राथामिकता दिएकोले व्यापारघाटा वृद्धि हुँदै गएको सचिव मरासिनीले बताए ।
सरकारले कपडा उत्पादन गर्ने उद्योगीहरुलाई उद्योग स्थापना गर्न जग्गासमेत दिनका लागि मन्त्रालयले काम अगाडि बढाएको छ ।

२०७६ साल जेठ महिनादेखि नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को न्यूनतम सीमा ५० लाख डलर (५ करोड रुपैयाँ)तोकेको थियो । सीमा तोकेपछि साना विदेशी लगानी नआएको भन्दै सरकारले साना लगानीको लागि पनि बोटो खोलिदिन लागेको हो ।

२०७६ सालभन्दा पहिले नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५० लाख रुपैयाँ रहेको थियो । सो समयमा विदेशी लगानीको सीमा कम भएको भन्दै निजी क्षेत्रले त्यसलाई बढाउन माग गर्दै आएका थिए । त्यो अनुसार नै सरकारले सीमा वृद्धि गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग सभापति भरत आचार्यले सबै उद्योगको ५ करोडभन्दा कम लगानी ल्याउने व्यवस्था गर्न नहुने बताए ।
उनले भने, ‘प्रविधिमैत्री उद्योग, स्टार्ट अफ विजनेस र नेपालका निजी क्षेत्रहरुले लगानी नगरेको क्षेत्रमा विदेशी लगानीको सीमा घटाउँदा पनि हुन्छ । तर नेपालीले नै लगानी गर्दै आएका, मासु, अन्डा र दूध लगायतको उद्योगका लागि विदेशी लगानीको सीमा घटाउनु हुदैन ।’

निजी क्षेत्रका लगानीकर्ताहरु नेपालमा विदेशी लगानीको सीमा कम गर्दैमा विदेशी लगानी नआउने बताउछन् । नेपालमा उद्योग स्थापना गर्दा हुने झन्झट र उत्पादन लागत धेरै भएकाले पनि उद्योग स्थापनामा केही कमी आएको निजी क्षेत्रको बुझाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर