ग्रामी मनोनित र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने – Nepal Press

ग्रामी मनोनित र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने

काठमाडौं । ग्रामी अवार्ड मनोनित र्‍यापर राजा कुमारीका प्रशंसकलाई खुशिको खबर । विश्वचर्चित यी अमेरिकन-इन्डियन गायिकाले आफ्ना र्‍याप तथा हिपहप गीतमार्फत चिसिएको काठमाडौंलाई तताउने भएकी छिन् । मंसिर १८ गते काठमाडौंको फरेनहाइट क्लबमा उनले प्रस्तुति दिने भएकी हुन् ।

विश्व संगीतका चर्चित नामहरु गिवेन स्टेफानी, फिफ्थ हार्मोनी, फलआउट ब्वाय, डिभाइनसँग सहकार्य गरेकी राजा कुमारीले पछिल्लोपटक बलिउड फिल्म ‘गल्ली ब्वाय’मा केमियो भूमिका पनि निर्वाह गरेकी थिइन् । रणवीर कपुर र आलिया भाट स्टारर यो फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो कमाइ गरेको थियो ।

वास्तविक नाम स्भेता यल्लाप्रगढा राओ रहेकी उनको स्टेज नाम चाहिँ राजा कुमारी हो । उनलाई ल्याउँदा नेपाल कोरोनाभाइरस महामारीबाट सामान्य अवस्थामा फर्किएको र नेपाली पर्यटनलाई टेवा पुग्ने आशा समेत क्लब फरेनहाइटले लिएको छ । राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा समेत भव्य स्वागत गरिने आयोेजकले जनाएको छ ।

यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठका अनुसार, नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।

केही वर्षअघि राजा कुमारीसँग र्‍याप गायनमा सहकार्य गरेका चर्चित भारतीय र्‍यापर डिभाइनले पनि काठमाडौंमा प्रस्तुति दिएका थिए । क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोेजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *