‘प्रेमगीत ३’ रिलिज डेट घोषणा : दुईवर्षपछि हलमा लाग्दै प्रदीप खड्काको फिल्म – Nepal Press

‘प्रेमगीत ३’ रिलिज डेट घोषणा : दुईवर्षपछि हलमा लाग्दै प्रदीप खड्काको फिल्म

काठमाडौं । कोरोनाभाइरस संक्रमणको स्थितीमा सुधार भए प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ गते (फेब्रुअरी २५) मा हलमा प्रदर्शन हुने भएको छ ।

निर्माण कम्पनी आसुसेन फिल्मसले बिहीबार बिहान फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारको दैनिक कोरोना संक्रमणदर ५ प्रतिशत तल छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले ५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन अनुमति दिएको छ ।

कोरोना संक्रमणदर १५ प्रतिशतभन्दा वृद्धि भए फिल्म हलहरु पुनः बन्द गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को योजना छ । मंसिर लागेयता दैनिक संक्रमणदर ४ प्रतिशत तलै छ ।

गत वर्षको चैत २८ गते रिलिज मिति तय गरेको प्रेमगीतको तेस्रो सिक्वेलको रिलिज अन्तिम समयमा रोकिएको थियो । दशैंदेखि फिल्म हलहरु खुलेपछि र सूर्यवंशीजस्ता फिल्मले राम्रो प्रदर्शन गरेपछि फिल्म निर्मातालाई हौसला प्रदान गरेको छ ।

प्रेमगीत ३ निर्माता एवं निर्देशक सन्तोष सेनले मुम्बईबाटै फिल्म रिलिज मिति घोषणा गरेका हुन् । फिल्मको भारतीय साझेदार कम्पनी इम्पोसिबल फिल्मससँग छलफलका लागि भारत पुगेको उनले तत्कालै नेपाल र भारतमा संयुक्तरुपमा रिलिज नहुने भएपछि नेपालमै भएपनि एकल रिलिज गर्न लागिएको बताए ।

नेपाल प्रेससँग उनले भने, ‘नेपाली दर्शक दुईवर्षदेखि फिल्मको पर्खाइमा हुनुहुन्छ । लामो समय रोकेर राख्ने कुरा पनि भएन । अब फिल्मको माहौल बनाउन पनि रिलिज गर्न लागेका हौं ।’

फिल्मले केही दिनमै नयाँ ट्रेलर रिलिज गर्ने तयारी समेत गरेको छ । प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, समृद्धी शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की लगायतको अभिनय छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर