कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोक प्रदेशमा पनि संस्थापन पक्षकै अग्रता – Nepal Press

कांग्रेस महाधिवेशनः सिन्धुपाल्चोक प्रदेशमा पनि संस्थापन पक्षकै अग्रता

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत मंगलबार बेलुकी सम्पन्न सिन्धुपाल्चोकको प्रदेश तहको अधिवेशनमा पनि संस्थापन पक्षकै बर्चश्व देखिएको छ । संस्थापन (देउवा) पक्ष र रामचन्द्र पक्षबीच चारै प्रदेशमा प्यानल खडा गरेर नेताहरु चुनावी मैदानमा उत्रिएका थिए ।

सिन्धुपाल्चोकको दुई निर्वाचन क्षेत्रमा चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । चारवटै क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ ।

क्षेत्र नम्बर–१ प्रदेश सभा ‘क’ मा संस्थापन पक्षका आङदोर्जे शेर्पा प्रदेशमा निर्वाचित भएका छन् । उनले ४३४ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी कुमार श्रेष्ठले ५४ मत मात्रै ल्याए ।

सिन्धुपाल्चोकमा संस्थापन पक्षको नेतृत्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गर्दै आएका छन् भने पौडेल समूहको जिल्ला सभापति विकास लामाले गर्दै आएका छन् ।

क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा पनि बस्नेत समूहका देवेन्द्र खड्का प्रदेश सभापतिमा निर्वाचित भएका छन् । उनले २५९ मत ल्याएका थिए भने लामा समूहका चन्द्रंबहादुर सिलवालले १७१ मत ल्याएका थिए ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा बस्नेत समूहका केशवराज गिरीले २११ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने जिल्ला सभापति विकास लामा समूहबाट देवप्रसाद बानियाँले २०४ मत ल्याएका थिए ।

प्रदेशसभा ‘ख’ मा पनि बस्नेत समूहका जितबहादुर तामाङ विजयी भएका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा यसअघि सिटौला समूहमा रहेकाहरु पनि अहिले संस्थापन पक्षमा खुल्न थालेका छन् । संस्थापन पक्षका उमेदवारहरुलाई सिन्धुपाल्चोकमा सिटौला समूहका नेता कार्यकर्ताहरुले समेत सहयोग गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएपछि अब बिहीबार क्षेत्रको अधिवेशन हुँदैछ । क्षेत्रीय अधिवेशनमा समेत दुवै समूहका नेताहरु प्यानल बनाएर नै प्रतिस्पर्धाको तयारीमा रहेको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

क्षेत्रीय अधिवेशन मंसिर १० र ११ गते सम्बन्धीत क्षेत्रमा हुनेछ भने जिल्ला अधिवेशन मंसिर १३ र १४ गते सदरमुकाम चौतारामा हुनेछ ।

जिल्ला सभापतिमा संस्थापन पक्षबाट हरिशरण श्रेष्ठ र प्रेमध्वज लामाको चर्चा रहेको छ भने संस्थापनइतर पक्षबाट यसअघि नै इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले उम्मेदवारी घोषणा गरिसकेका छन् । वडा, पालिकाहुँदै प्रदेश अधिवेशन सम्पन्न हुँदा अहिलेसम्म बस्नेत पक्षकौ अग्रता देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर