रूपन्देहीमा प्रदेशसभा सांसद रमा अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित – Nepal Press

रूपन्देहीमा प्रदेशसभा सांसद रमा अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

रूपन्देही । रूपन्देहीमा कांग्रेस नेता रामचन्द्र पौडेल समूहमा रहेकी सांसद रमा अर्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसको नेतृ रमा अर्याल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।

रुपन्देही–३ को प्रत्यक्ष महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेद्वार अर्यालले २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए । रामचन्द्र पौडेल समूहबाट मातृका प्रसाद यादव प्यानलमा रहेकी प्रदेशसभा सदस्य अर्याल पराजित हुँदा देउवा नजिकका सुशील गुरुङ प्यानलकी अर्का प्रदेससभा सदस्य पुष्पा थरुनी विजयी भएकी छन् ।

थरुनीले ३ सय ९४ मत प्राप्त गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । ४ जना प्रत्यक्ष महिला चुनिने स्थानमा यादव पक्षबाट ४ जना र गुरुङ पक्षबाट ४ जना गरी ८ जना महिलाहरुले महाधिवेशन प्रतिनिधिको लागि उम्मेद्वारी दिएका थिए । जसमध्ये गुरुङ प्यानलका चारै जना विजयी भएका छन् । प्रदेश सभा पुष्पा थरुनीबाहेक जन्नतुन निशा धुनिया (३ सय ३१), विना न्यौपाने (३ सय ६९) र रमा कुमारी अधिकारी (३ सय १५) विजयी भएका हुन् ।

रुपन्देहीमा ५ जना प्रदेशसभाका सदस्यहरु नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवार बनेका थिए । क्षेत्र नम्बर ५ मा फकरुद्दिन खान, क्षेत्र नम्बर ४ मा वसिउद्दिन खान र अस्टभुजा पाठक निर्विरोध निर्वाचित भएका थिए ।

रूपन्देही क्षेत्र नं ३ मा खाँण समूहका सुशील गुरूङको नेतृत्वमा प्यानलले चुनाव जितेको छ । पौडेल समूहका कार्यकर्ताले संस्थापन समूहले बलजफ्ती गरेर चुनावी कार्यक्रम अगाडि बढाएको भन्दै शुरूदेखि नै विवाद गर्दै आएको छ ।

चार दिनअघि भएको निर्वाचनमा उम्मेदवार रहेका सो क्षेत्रका पौडेल समूहका उम्मेदवार सुशील पन्त संस्थापन समूहका कार्यकर्ताको कुटपिटबाट घाइते भएर अस्पतालमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर