एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा – Nepal Press

एमालेमा अखिलको लिगेसी- शंकर महासचिवको ‘रेस’मा, तीन पूर्वअध्यक्ष ‘डेब्यू’ को तयारीमा

काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनबाट धेरै नयाँ अनुहारले एमाले केन्द्रीय कमिटीमा समेटिने इच्छा प्रकट गरेका छन् ।

साविकका केन्द्रीय सदस्य सबै दोहोरिँदा पनि धेरै नयाँ अनुहारले ठाउँ पाउने भएकाले पनि केन्द्रीय दस्यमा ‘डेब्यू’का लागि धेरै दावेदार देखिएका हुन् । त्यस्तो दावेदारहरुमा एमालेको भातृ संगठन अनेरास्ववियूबाट पनि छन् । अनेरास्ववियूका पूर्वअध्यक्षहरुको यसपटक एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्ने चाहाना छ ।

अनेरास्ववियूबाटै गएर अहिले एमालेमा स्थापित भएका नेताहरु धेरै छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष शंकर पोखरेलको दावीदारी एमाले महासचिवमा छ ।

पूर्वअध्यक्ष योगेश भट्टराईले बुधबार सचिवमा उम्मेदवारीको घोषणा गरेका छन् ।

त्यस्तै अनेरास्ववियूका पूर्वअध्यक्षहरु अरुण नेपाल, हिक्मत कार्की, खिमलाल भट्टराई र ठाकुर गैरे पनि पदाधिकारीका दाबेदार हुन् ।

पूर्वअध्यक्षमध्ये रामनाथ ढकाल र रविन्द्र अधिकारीको निधन भइसकेको छ । पूर्वअध्यक्षहरु तुलवहादुर गुरुङ, राजेन्द्र राई र रामकुमारी झाँक्री नेकपा (एस)मा छन् ।

पूर्वअध्यक्षहरु टंक कार्की, रुपनारायण श्रेष्ठ र माधव ढुंगेल केन्द्रीय समितिमै छन् । उनीहरुले पदाधिकारीको दावी गरिसकेका छैनन् ।

पूर्वअध्यक्षहरु मध्यका विश्वकान्त मैनाली, गौरी प्रधान र रामप्रसाद ज्ञवाली भने सक्रिय राजनीतिमा छैनन् ।

जो ‘डेब्यू’ गर्न चाहान्छन्

अनेरास्ववियूका अध्यक्ष भइसकेका धेरैले एमालेमा भूमिका पाएका छन् । थोरै छन्, जो यसपाली एमाले केन्द्रीय कमिटीमा डेब्यू गर्न चहान्छन् ।

अनेरास्ववियूको पूर्वअध्यक्षहरु मध्यमा तीन जना एमाले केन्द्रीय हुन बाँकी छ । किशोरविक्रम मल्ल, नवीना लामा र ऐन महर यसपटक केन्द्रीय कमिटीमा डेब्यू गर्न चाहन्छन् । लामा भने प्रतिनिधिसभाकी सदस्य समेत हुन् ।

उनीहरुले केन्द्रीय कमिटीमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । हालकी अध्यक्ष सुनिता बरालले पनि केन्द्रीय सदस्यमा उम्मेवारी घोषणा गरिसकेकी छिन् ।

पदाधिकारीका दावेदार

शंकर पोखरेल
योगेश भट्टराई
अरुण नेपाल
हिक्मत कार्की
खिमलाल भट्टराई
ठाकुर गैरे

केन्द्रीय कमिटीमा ‘डेब्यू’ आकांक्षी

किशोर विक्रम मल्ल
नवीना लामा
ऐन महर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर