एमाले महाधिवेशनमा सहभागी हुन आउनेलाई दाउन्ने सडकको चिन्ता – Nepal Press

एमाले महाधिवेशनमा सहभागी हुन आउनेलाई दाउन्ने सडकको चिन्ता

रुपन्देही । चितवनमा आयोजना हुने नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशका दाउन्ने खण्ड छिचोलेर जानुपर्ने हुन्छ तर यो सडक खण्ड कसरी पार गर्ने भन्ने चिन्तामा धेरै सहभागीलाई छ ।

केही समयदेखि निर्माणका क्रममा रहेको यो सडकखण्ड साँघुरोसँगै उकालो–ओरालोमा घुमाउरो मोड छ, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौं जाम हुन्छ त्यस कारणले पनि दाउन्ने पश्चिमका सहभागीले यसअघि अड्कल गरेको समयमा सजिलै पुग्न सक्ने छैनन् ।

उद्घाटन सत्रमा लुम्बिनी प्रदेशबाट मात्रै ७५ हजार सहभागी गराउने एमाले लुम्बिनीले योजना बनाएको छ । यति धेरै संख्यामा सहभागीलाई यो बाटोबाट निर्धारित समयमा लैजान त्यति सहज छैन । त्यसैले पनि सहभागिताको व्यवस्थापन गर्ने कमिटीले अघिल्लो दिन नै जानेगरी योजना बनाएको सुनाएका छन् ।

नियमित सवारी संचालन हुने समयमा पनि यो बाटोमा घन्टौ लाइनमा बस्नुपर्ने अवस्था थियो, महाधिवेशनका कारण बढेको चहलपहल र त्यो दिनको सहभागितालाई दाउन्ने सडकमा व्यवस्थापन गर्न चुनौती देखिएको छ– एक ट्राफिक अधिकृतले सुनाए ।

सामान्यतया बुटवलबाट चितवन जाने २ देखि साढे दुई घन्टाको हो तर अहिले तेब्बर समयमा पनि पुग्न सकिदैन त्यसैले पहिले नै कसरी पुग्ने भन्ने योजनामा छौं– महाधिवेशन प्रतिनिधि तेजेन्द्र केसीले बताए ।

एमालेले सडकको यो अवस्था र हुनसक्ने सडक जामका विषयमा सम्बन्धित जिल्ला प्रशासन, ट्राफिक प्रहरी लगायत सबैलाई आग्रह गरेको एमाले लुम्बिनीले जनाएको छ ।

सामान्य अवस्थामा दाउन्ने खण्डको १५ किलोमिटर पार गर्न मात्र ६–७ घण्टासम्म लाग्ने भएकाले १० गते लुम्बिनीबाट हिंडेका सहभागी पनि निर्धारित समयमा पुग्न नसक्ने अवस्था आउने भएकाले यसतर्फ दिन आग्रह एमालेले गरेको छ ।

वैकल्पिक सडक नहुँदा यस सडक खण्डमा दिनहुँ सवारी जाम हुने गरेको छ । धूलो, खाडल र सवारी जामका कारण बीच बाटोबाट नै फर्किनुपर्ने अवस्थाका आउने भएकाले पनि धेरै सहभागी पहिले जान खोजेको एमाले नेताहरुले सुनाउने गरेका छन् । दाउन्ने भन्नेबित्तिकै अब सवारी जाम हुने र धुलाम्य सडकको सम्झना धेरैलाई आउने भएकाले यसको चिन्ता बढेको हो ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा उकालो–ओरालोमा घुमाउरो मोड र साँघुरो सडक छ । सवारीको चाप अत्याधिक हुन्छ । नवलपरासीका ट्राफिक प्रहरी प्रमुख वासुदेव नेपालले सडक जीर्ण भएकाले ठूला सवारी दाउन्ने खण्डमा बिग्रिने र दुर्घटनामा पर्ने गरेकाले समस्या आइरहेको र महाधिवेशनमा बढ्ने चापलाई सकेसम्म व्यवस्थापन गर्ने योजना बनाएको बताउँछन् ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तारका क्रममा भएकाले सडक भासिने तथा भत्किने समस्या, धूलो पनि उस्तै समस्या भएकाले साना सवारीलाई पनि सजिलै पार गर्न अफ्ठेरो छ ।

पूर्वी नवपरासीका बासिन्दाले केहीअघि राजमार्ग नै बन्द गरेर सडक मर्मतको माग गरेपछि दुम्कीबासदेखि पूर्वी खण्डमा कालोपत्रसहित मर्मत गरिएको थियो ।

पश्चिम खण्डमा भने ठेकेदार कम्पनीले मर्मत गरेको छैन । बुटवल–नारायणगढ सडक विस्तार पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले वैकल्पिक मार्ग नहुँदा सडक बन्द गरेर काम गर्ने अवस्था नभएको र यातायात सुचारु गरेर पूर्ण रूपमा मर्मत गर्न नमिल्दा समस्या परेको बताए ।

सरकारी अधिकारीहरुले एमाले आफैले पनि यो बाटोमा स्वयंसेवक खटाएर ट्राफिक व्यवस्थापन कम गर्न सकिने, दुई पांग्रे तथा सानासवारीलाई निर्धारित बाटोमा मात्र संचालन गर्न आग्रह गर्ने, ठूला ट्रक तथा अन्य सवारी साधनलाई त्यो समयमा नहिंड्न पूर्व सूचना गरे केही समस्या समाधान हुने सुझाव दिन्छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख योगबहादुर थापाले यो समयमा ठूला भारवहन रहेका गाडी संचालन नगर्न सरोकारवालालाई आग्रह गरेको, उकालो ओरालोमा बिग्रेका गाडी तत्काल साइड लगाउन ठाउँठाउँमा क्रेनको व्यवस्था गरिएको, विभिन्न मोड तथा चोकमा प्रहरीलाई खटाइएको बताए । उनले ट्राफिक एक्लैले यो समस्या समाधान गर्न नसक्ने भएकाले सबैले समन्वय गर्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर