एमालेमा कसैले हुक गरेर माथि ल्याउने र ठेल्दिएर अघि बढ्ने हुँदैनः योगेश भट्टराई – Nepal Press
नेपाल टक

एमालेमा कसैले हुक गरेर माथि ल्याउने र ठेल्दिएर अघि बढ्ने हुँदैनः योगेश भट्टराई

‘दर्जनौँ नेताहरूलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्दछु’

एमालेको दशौँ महाधिवेशनको तयारी अन्तिम चरणमा छ । चितवनमा सम्पन्न हुने महाधिवेशनको दुई दिनअघिसम्म पनि नेतृत्वका धेरै आकांक्षीहरु अझै खुलेर आइसकेका छैनन् ।

एमालेका सचिव योगेश भट्टराई सके सर्वसम्मत नभए निर्वाचनमार्फत नयाँ नतृत्व चयन हुने बताउँछन् । अन्तिम समयसम्म सर्वसम्मतको प्रयास हुने उनको भनाइ छ । भट्टराई स्वयम्ले आज आफू सचिवमा दोहोरिन चाहेको बताएका छन् ।

पार्टीको प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईसँग महाधिवेसनका तयारी र नेतृत्व छनोटका विषयमा महाधिवेशनस्थल चितवनमा गरिएको कुराकानी :

महाधिवेशनको तयारी कहाँ पुग्यो ?

उद्घाटन स्थलमा मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भोलि बेलुकासम्म मञ्च निर्माणको काम सबै सकिन्छ । त्यसपछि सौराहामा बन्द सत्रको पनि तयारी भइरहेको छ ।

देशभरिबाट एमालेका नेता–कार्यकर्ताहरू आउनुहुन्छ । साथै चितवन र चितवन आसपासबाट पनि ठुलो संख्यामा नागरिकहरू आउनु हुन्छ । अहिले गाउँ–गाउँमा, टोल–टोलमा यो महाधिवेशनको तयारीका लागि नेकपा एमाले जुटेको छ ।

हामीले पाँच लाख मान्छे जुटाउने भनेका थियौँ । यो तयारी हेर्दा पाँच लाखभन्दा पनि बढी मानिसहरू उद्घाटन कार्यक्रममा सहभागी हुने देखिएको छ । ठुलो जनपरिचालनसहित नेकपा एमालेको यो महाधिवेशन उद्घाटन हुनेछ ।

मनोनितसहित अब हाम्रो पुरै प्रतिनिधि संख्या २२९७ हुन्छ । उनीहरुलाई तीन दिनसम्म आवासको व्यवस्थापनका लागि सबै सम्झौताहरू भइसकेको छ सौराहामा । प्रतिनिधीहरुलाई १० गते बेलुका देखिको व्यवस्थापन हुन्छ । १० गते हाम्रो केन्द्रीय कमिटिको बैठक पनि चितवनमै आयोजना हुन्छ ।

देशभरि महाधिवेशनको माहौल बन्दै गइरहेको छ । दशौँ महाधिवेशनको लागि हामी अन्तिम तयारीमा छौँ भन्दा हुन्छ ।

विगतका महाधिवेशन र दशौँ महाधिवेशन बिच केही फरक पाउनु हुन्छ कि उस्तै हुन् ?

आज नेकपा एमाले कसको निरन्तरता हो र कसको यसले लिगेसी बोकिरहेको छ भन्ने कुरामा कतिपयले बहस गरिरहेका छन् । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता हो नेकपा एमाले । त्यसका संस्थापक पुष्पलाल हुन् । पुष्पलालले जुन उद्देश्यले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो, उहाँको विचार र सिद्धान्तको उत्तराधिकारी पार्टी नेकपा एमाले हो ।

२०७५ जेठ ३ गते प्रचण्ड नेतृत्वको पार्टी र हाम्रो पार्टीमा एकता भयो । उहाँहरु पनि शान्तिपूर्ण बाटोमा आउनु भयो । त्यसकारण आज एमालेले महाधिवेशनबाट यो कुरा अझै स्पष्ट पार्न चाहन्छ कि हामी एकातिर पुष्पलालले गठन गरेको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हौँ भने ०७३ जेठ ३ गते पार्टी एकतापछिको पनि हामी निरन्तरता हौँ । आजको दिनमा यो नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टीको मूल प्रवृत्ति हो, मूल धार हो, प्रमुख राजनैतिक दल हो भन्ने कुरा हामी यो महाधिवेशनबाट स्पष्ट पार्न चाहन्छौँ ।

अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न ढङ्गबाट महत्वपूर्ण योगदान गर्ने नेताहरू हुनुहुन्छ । मैले अघि नाम लिएँ । पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीलगायत अघिल्लो पुस्ता जसले नेपालको कम्युनिष्ट आन्दोलनको निर्माण ग¥यो, त्यो पुस्ताको समेत हामीले लिगेसी बोकेका छौँ ।

यति भन्दै गर्दा महाधिवेशन आउन केही दिन मात्रै पनि बाँकी हुँदासम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । अहिले पनि सर्वसम्मतको नाममा नेतृत्वको नजिक हरेका व्यक्तिहरूलाई टिका लगाएर घोषणा गर्ने त होइन भन्ने आम नागरिकको चासो छ । तर एमालेमा टिका लगाएर नेतृत्वमा आउने कुरा त शून्य प्रतिशत पनि छैन ।

भनेपछि सबै पदमा निर्वाचन हुने भयो त ?

प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धा भनेको बक्सामा मत हाल्ने कि कामबाट प्रतिस्पर्धा गर्ने कि योग्यता र क्षमताले नेतृत्वमा आउने कि भन्ने हो । प्रतिस्पर्धाका विभिन्न रूपहरू हुन्छन् । एमालेमा कसैले हुक गरेर माथि ल्याउने र कसैले ठेल्दिएर अघि बढ्ने भन्ने कुरा हुँदैन । त्यो नचिताए पनि हुन्छ । त्यसरी एमाले जाँदा पनि जाँदैन । त्यसरी एमाले जाने भए अरू कतिपय कम्युनिष्ट पार्टी क्रमशः सकिँदै गएजस्तै एमाले त्यस्तै हुन्थ्यो । तर, आज एमाले किन यति लोकप्रिय भएको छ ? किनकी यो पार्टीमा नेतृत्व विकास पनि प्रतिस्पर्धाबाट हुन्छ । पहलकदमीबाट हुन्छ । त्यो मर्यादित र स्वस्थ ढङ्गबाट हुन्छ ।

अहिलेसम्म अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसबाहेक अध्यक्षमा अर्काे कुनै उम्मेदवारी परेको छैन । रावल नै सर्वसम्मत अध्यक्ष हुने सम्भावना पनि छ ?

पार्टीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गर्ने सोच बनाइरहेको छ । पार्टी अध्यक्षको पनि मुड त्यस्तै रहेको मैले बुझेको छु । त्यो कुरामा हामी पुग्न सकेनौँ भने पनि प्रतिस्पर्धाको ढोका खुल्ला छ । त्यो अवस्थामा दुई जना मात्रै होइन । दर्जनौ नेताहरुलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्दछु । दर्जनौँ नेताहरू आउनु प¥यो । यत्रो पार्टीमा अध्यक्ष हुन्छु भन्ने दावा पेस गर्न आउनु प¥यो । ५० औँ वर्ष राजनीति गरेको भन्ने नेताहरुले म अध्यक्ष हुन्छु चलाउँछु यो मुलुक भनेर किन नआउने ? त्यो क्रममा यदि कोही नेताका नाममा सर्वसम्मत भएमा फेरी त्याग गर्न पनि तयार हुनु परो ।

दशौँ महाधिवेशनमा तपाईंको उम्मेदवारी कुन पदमा हुन्छ ?

लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नु पर्छ । यसपटक चौतारीमा बस्ने अर्थात् सचिवमै रहने भन्ने मेरो सोचाइ छ । त्यसपछि फेरी अगाडी बढ्ने । मलाई अझै १५ वर्ष को सुविधा छ नेकपा एमालेमा । अहिले नै धेरै माथि जान आवश्यक छैन । त्यसैले हेरौँ, बिचार गरौँ ।

यही अवस्थामा निर्वाचन भए पूर्वमाओवादीबाट आएका नेताहरूलाई जित्न सकस हुँदैन ?

यही कुरा पाँचौँ महाधिवेशनमा पनि उठेको थियो २०४९ सालमा । तत्कालीन माक्र्सवादीबाट आएकाहरू सबै सिद्धिन्छन् कि क्या हो एमालेमा भन्ने थियो । तर, मनमोहन अधिकारी अध्यक्ष हुनुभयो । भरतमोहन अधिकारी त्यो पार्टीको एक जना वरिष्ठ नेता हुनुभयो । साहाना प्रधान वरिष्ठ नेतृ हुनुभयो । सिद्धिलाल सिंह हुनुभयो । मार्क्सबादीबाट आएका दर्जनौ नेताहरू स–सम्मान एमालेको नेता हुनुभयो ।

एमालेका एउटा विशेषता छ, यसले सबैलाई समेट्छ । कसैलाई पनि टाढा लखेट्दैन । त्यो समेट्न सक्ने सबैलाई अटाउन सक्ने पार्टी हो एमाले । समुन्द्र हो एमाले, सबैलाई यसमा अटाएर लैजान्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर