देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन – Nepal Press

देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेसको किचलो बढ्दै गएको छ । डडेलधुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन गरिरहेका बेला उता डडेलधुरामा भने नयाँ नेतृत्व चयन भएको छ ।

सोमबार भएको कांग्रेस डडेलधुराको सातौँ जिल्ला अधिवेशनबाट ७ सय ३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ । साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६ सय ५८ मतले पराजित गरेका हुन् । निर्वाचनमा विजेता भएका र पराजित भएका दुवै पक्षका हुन् ।

यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

निवर्तमान सभापति कर्ण मल्ल समूहले उक्त निर्वाचन अवैध भनेको छ । साउद देउवानिकट हुन् भने सभापति देउवासँग हालै टाढिएका छन् ।

‘म सभापति हुँ मलाई बाहिर राखेर कांग्रेसको अधिवेशन हुन्छ ?’ उनले भने ‘त्यो गुटको भेला हो कांग्रेसको अधिवेशन होइन । ’

डडेलधुरा कांग्रेसका निवर्तमान सभापति मल्ल र निर्वाचित सभापति साउद ।

उनले यसअघि भएका अधिवेशनहरू पनि अवैध भएको भन्दै स्थगनको माग गरेका छन् । डडेलधुरामा कांग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो । मल्ल समूहले क्रियाशील विवाद टुङ्गो नलागेको भन्दै अधिवेशन स्थगित गरेको थियो । तर, केन्द्रीय सभापतिले बल प्रयोग गरेर अधिवेशन गराएको उनको दाबी छ ।

‘हरेक तहको सभापति र जिल्लाको समितिलाई बाहिर राखेर कहीँ अधिवेशन हुन्छ । केन्द्रीय सभापतिले शक्तिको दुरुपयोग गरेर आफ्नो गुटको अधिवेशन गर्नुभएको हो’, मल्लले भने ।

मल्ल समूहले वडा सभापतिको सिफारिसमा गएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जनाको नाम केन्द्रले काटेर थप ३ सय १२ जनाको नाम समावेश गरेको आरोप लगाउँदै आएको छ ।

‘सदस्यता पाउन वडा सभापतिको सिफारिस चाहिन्छ । वडा सभापतिले सिफारिस गरेको नाम काटेर आधिकारिक उम्मेदवारलाई हराउन लागेकाहरूको नाम समावेश गर्न पाइदैन । हामी यो अधिवेशन स्वीकार गर्दैनौ’, मल्लले भने । ५२ वडा मध्ये ४३ वडामा विवाद रहेकोले अधिवेशन स्थगित गरेको उनले जानकारी दिए । मल्ल समूहले सानेपामा अनसन जारी राखेको छ भने केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको छ । पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताए ।

यता मल्ल पक्षले आन्दोलन जारी राखेकै बेला जिल्लामा भएको अधिवेशनले थप किचलो बढ्ने देखिएको छ । यसको समाधान सभापति देउवाबाट मात्रै सम्भव रहेको मल्लको दाबी छ । ‘आफ्नै गृहजिल्लामा समस्या राखेर उहाँले पार्टी सुधार्न सक्नुहुन्न । अभिभावक बनेर उहाँले नै समाधानको पहल गर्नुपर्छ’, मल्लले भने ।

उता देउवा पक्षले भने निर्वाचनमा पराजित हुने डरले मल्ल समूहले विवाद झिकेको आरोप लगाएको छ । ‘सभापतिलाई बदनाम गर्ने उद्देश्यले उहाँहरू लाग्नु भएको छ’ देउवा पक्षका एक नेताले भने ‘निर्वाचनमा हार्ने डरले उहाँहरूले निर्वाचन बहिष्कार गर्नुभएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर