एमाले नेतृत्वमा पदाधिकारीसहित चितवनबाट १२ आकांक्षी, ६ नयाँ अनुहार – Nepal Press

एमाले नेतृत्वमा पदाधिकारीसहित चितवनबाट १२ आकांक्षी, ६ नयाँ अनुहार

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा चितवनबाट केन्द्रीय नेतृत्वमा १२ जनाले दावी गर्ने भएका छन् । २ जनाले पदाधिकारीमा र अन्य १० जनाले केन्द्रीय सदस्यमा दावी गरेका छन् । दाबेदारमध्ये ६ जना नयाँ अनुहार छन् ।

आकांक्षीहरूले उम्मेदवारी दिन्छन्, या सहमतिमै नेतृत्वमा पुग्छन् त्यो भने केही दिन कुर्नु पर्नेछ । पूर्वअर्थमन्त्री तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव वा सोभन्दा माथिको पदमा दाबी गर्ने बताइसकेका छन् । पूर्वगृहमन्त्री तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले बरिष्ठ उपाध्यक्ष पदको दाबी गरेका छन् । उनी महाधिवेशन आयोजक मूल समितिका संयोजक समेत हुन् । यस्तै केन्द्रीय सदस्यहरुमा दाबी गर्नेमा पुराना केन्द्रीय सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, देवी ज्ञवाली, कपिल पोखरेल छन् ।

केन्द्रीय सदस्यका दाबेदार अन्यमा कृष्णभक्त पोखरेल, दीलकुमारी रावल ‘पार्वती’, विजय सुवेदी, जेएन थपलिया, दावादोर्जे लामा, बाबुराम खरेल छन् । काशिनाथ अधिकारी प्रदेश सह-इञ्चार्ज, चितवन इञ्चार्ज हुन् । २०४० सालमा चितवन अध्यक्ष बनेकी सीता पौडेल गण्डकी प्रदेश प्रमुख समेत बनेकी थिइन् । उनी अनेमसंघको केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री ओलीका पालामा विज्ञ समूहमा समेत थिइन् । देवी ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरमा मेयरमा पराजित भएका थिए । भूमि सम्बन्धी समस्या समाधान आयोगमा अध्यक्ष भएर काम गरेका थिए ।

हालका केन्द्रीय सदस्य कपिल पोखरेल पुराना एमाले नेता हुन् । कृष्णभक्त पोखरेल प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति हुन् । उनी २ पटक सांसद बनिसकेका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल पार्वती हाल एमाले चितवनकी अध्यक्ष हुन् । उनी तत्कालीन एमाले चितवनको सचिवमा निर्वाचित भएकी थिइन् ।
२ पटक एमाले चितवनको नेतृत्व सम्हालेका विजय सुवेदी वागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए ।

वागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलको राजनीतिक सल्लाहकार बनेका जेएन थपलिया एमाले चितवनका पूर्व जिल्ला अध्यक्ष हुन् । बागमी प्रदेशको भूमि, कृषि तथा सहकारी विकास मन्त्री बनेर काम गरिसकेका दावा दोर्जे लामाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । हाल वागमती प्रदेश कमिटी सदस्य बाबुराम खरेलले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । गुल्मीमा एमालेको संगठन बनाउन सक्रिय बनेका खरेल चितवन बसाइँ सरी आएपछि करिब १० वर्ष माओवादीको राजनीतिमा लागेका थिए । पछि पार्टी विभाजनपछि उनी बादल नेतृत्वको पार्टीमा लागेका थिए । बादल समूहबाट महाधिवेशन प्रतिनिधि रहेका एमाले चितवनका सचिव प्रकाश खनाल शैलेशले सहमति भए केन्द्रीय सदस्यमा दावी गर्ने तयारी गरेका छन् । एमालेको १०औं राष्ट्रिय महाधिवेशन १०-१२ मंसिरसम्म चितवनमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर