आफ्नै गढमा कमजोर देखिए भीम रावल, यस्तो छ सुदूरपश्चिमको हिसाव-किताब – Nepal Press

आफ्नै गढमा कमजोर देखिए भीम रावल, यस्तो छ सुदूरपश्चिमको हिसाव-किताब

कैलाली । धनगढी । चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । रिपोर्टस क्लबमा उम्मेदवारी घोषणा गर्दै उनले अध्यक्ष ओलीलाई आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका थिए ।

नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा रावलले सबैभन्दा बढी मत ल्याएका थिए । राजधानीको भृकुटीमण्डपमा ०७१ असार १९–२५ मा एमाले नवौं महाधिवेशन चलेको थियो । उपाध्यक्ष पदमा पाँच पदका लागि १० जनाको उम्मेदवारी परेको थियो ।

०७१ साउन १ गते घोषणा भएको मत परिणाम अनुसार रावलले २ हजार १५२ मत मध्ये ११४३ मत ल्याएका थिए । उनले आफ्नो शक्तिको आधार अहिले पनि त्यही लोकप्रियतालाई देखाउने गरेका छन् । तर अहिले रावलको धरातल भने फेरिएको छ ।

नवौं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएका रावललाई दशौं महाधिवेशनमा त्यो साख बचाउन चुनौती छ । अहिले आफ्नै क्षेत्रमा कमजोर देखिएपछि अध्यक्षमा अपेक्षित मत ल्याउन निकै सकस हुने आँकलन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल अहिले भने कमजोर छन् । कुनै बेला रावलको अगाडि ठाडो शीरले उभिन नसक्नेहरु अहिले सुदूरपश्चिममा एमालेको प्रभावी नेता बनेका छन् । एमालेले वडादेखि महाधिवेशन प्रतिनिधि समेत अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन गरेको छ ।

नौ जिल्ला रहेको यस प्रदेशबाट पार्टीभित्र चयन भएका अधिकांश नेतृत्वमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व रहेको छ । प्रदेशमा ओलीको लिगेसी प्रदेश अध्यक्ष कर्ण थापा, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज नारदमूनि राना लगायतले लिएका छन् ।

प्रदेशबाट अहिले एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना छनोट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

त्यस्तै बाजुरा २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना छनोट भएको उनले बताए ।

१६४ जना निर्वाचन क्षेत्र र मजदुर संगठनबाट छनोट भएका छन् भने पाँचजना प्रदेश कमिटीले मनोनित गरेको छ ।

एक सय ७१ जना मध्ये रावल पक्षका प्रतिनिधि दुई दर्जन पनि पुग्न समस्या हुने एमाले स्रोतको दाबी छ । किनभने हिजो जसको बलमा रावलले सुदूरपश्चिममा राज गरेका थिए उनीहरु अहिले एमालेमा छैनन् ।

‘उहाँले प्रदेशबाट २ प्रतिशत मत ल्याउन सक्नुहुन्छ,’ एमाले स्रोत भन्छ ‘अहिले एमालेमा फेरि ओलीलाई नै अध्यक्ष बनाउने कुरामा सबै एक मत भएको हुँदा उहाँको मत निकै कम हुन्छ ।’

अब ५ प्रतिशत केन्द्रले प्रतिनिधि मनोनित गर्नेछ । सुदूरपश्चिम प्रदेशबाट १५ जनाको नाम सिफारिस गरिएको छ । करिब ७ जना मनोनित हुने भनिएको छ । उनीहरू पनि रावल इतर हुने दाबी गरिएको छ ।

रावलको गृहजिल्ला अछामबाट भने उनी पक्षका प्रतिनिधि छनोट भएका छन् । कञ्चनपुरबाट पनि केही प्रतिनिधि छनोट भएको बताइएको छ ।

महाधिवेशन प्रतिनिधि एकलौटी ढंबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद नै भएको थियो । विगतमा ओली पक्षमा रहेका कैलाली अध्यक्ष रतनबहादुर थापाले सो निर्वाचन क्षेत्रबाट धनगढीमा महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।

रावल समूहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, लम्की चुहाका नगर प्रमुख महादेव बजगाईँ लगायतले एक हजार दुई सय व्यक्तिको भेला गराई महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।

भीम रावलनिकट रहेका झपट रावलले ओली पक्षले एकलौटी प्रतिनिधि छनोट गरेको भन्दै थप ९ जनाको नाम पठाएका थए । तर उनीहरू अवैध रहेको यसअघि प्रदेश अध्यक्ष कर्ण थापाले बताइसकेका छन् ।

‘महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्,’ प्रदेशको महाधिवेशन प्रतिनिधि छनोटपश्चात् धनगढीमा आयोजित पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भनेका थिए, ‘कैलाली क्षेत्र नम्बर दुईमा पार्टीले छनोट गरेका प्रतिनिधि वैध हुन् ।’

कैलाली क्षेत्र नम्बर २ का समानान्तर प्रतिनिधीहरुले मान्यता नपाउने अवस्थामा रावल थप कमजोर हुने अवस्थामा देखिएका हुन् । यस अघि रावलको साथमा रहेकाहरू पनि अहिले उनीसँग छैनन् ।

सुदूरपश्चिमबाट २५ जना केन्द्रीय सदस्यमध्ये अहिले रावलसहित कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्रै उनीसँग छन् । प्रतिनिधिसभा सदस्यमध्ये कैलालीका रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट मात्रै रावलसँग छन् । उनी इतर ठूलो समूह अहिले प्रदेशमा बलियो अवस्थामा रहेको छ ।

‘यस अघि उहाँ धेरै बलियो हुनुहुन्थ्यो तर, अहिले धेरै कमजोर हुनुभएको छ’ एमालेका एक नेताले भने, ‘यस्तै अवस्था उहाँ अध्यक्षमा लड्नु भयो भने अपेक्षित मत पनि पाउन नसक्ने अवस्था छ ।’

महाधिवेशनमा छनोट भएका प्रतिनिधिहरुमा ओली पक्षको वर्चस्व रहेको हुँदा रावललाई समस्या हुने बताइन्छ ।

एमाले विभाजन हुनु भन्दा अघि सम्म रावल प्रदेशमा बलियो अवस्थामा थिए । तर, उनी निकट रहेका अधिकांश नेताहरूले उनको साथ छोडेपछि रावल आफ्नै भूगोलमा कमजोर भएका हुन् । रावल निकट रहेका १४ जना प्रदेश सभा सदस्यहरूले नेकपा एस रोजेका थिए ।

रावल सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ– झपट

निकट रहेका केन्द्रीय सदस्य झपट रावलले भीम रावल सर्वसम्मत पार्टी अध्यक्ष बन्ने सक्ने दाबी गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी ओली एउटै कक्षामा दोहोरिन्न भन्ने सन्दर्भलाई जोड्दै उनले भने, ‘अहिलेसम्म अध्यक्षमा भीम रावलले मात्रै उम्मेदवारी दिनुभएको छ । अध्यक्ष कमरेड एउटै कक्षामा दोहोरिन्न भनिसक्नु भएको छ । अबको सर्वसम्मत अध्यक्ष भीम रावल हुन सक्नुहुन्छ ।’

उनले भीम रावल कमजोर नभई थप बलियो भएको दाबी गरे । ‘उहाँको अडान र राष्ट्रियताको विषयले गर्दा अझै बलियो हुनुभएको छ,’ उनले भने, ‘अबको अध्यक्ष उहाँ नै हो ।’

सुदूरपश्चिममा त उहाँ (भीम रावल) कमजोर हुनुभएको होइन र ? भन्ने प्रश्नमा झपट भन्छन्, ‘‘उहाँ सुदूरपश्चिमको मात्रै नेता होइन देशभरिको नेता हो । उहाँ देशभरिमा बलियो हुनुभएको छ ।’

सुदूरपश्चिम प्रदेशका नियोजित रूपमा प्रतिनिधि छनोट गरिएको भन्दै उनले विरोध गरे । ‘कैलाली क्षेत्र नम्बर २ मै हेर्नुहोस् न,’ उनले प्रतिप्रश्न गरे, ‘कार्यकर्ताको बीचमा नगई धनगढीमा बसेर प्रतिनिधि छनोट गर्न मिल्छ ?’

रावलले आफूले पनि सचिव पदमा उम्मेदवारी दिन सक्ने बताए । घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । भीम रावललाई सर्वसम्मत अध्यक्ष बनाउँदा पार्टी अझै मजबुत हुने उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर