गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह – Nepal Press

गृहमन्त्री खाँणलाई गृहजिल्लामा आफ्नै नेताले साथ दिएनन्, भरत शाहले बनाए अलग्गै समूह

रूपन्देही । नेपाली कांग्रेसको संस्थापन समूहको केन्द्रमा बलियो देखिएका नेता बालकृष्ण खाँण गृहजिल्लामा भने कमजोर भएका छन् । आफ्नै समूहमा रहेका नेता भरत शाहले जिल्लामा अलग समूह बनाएपछि उनी थप कमजोर बनेका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा अहिलेसम्म क्षेत्र नम्बर १ मा मात्र उनको समूह विजयी भएको छ ।

नेपाली कांग्रेसको रुपन्देही क्षेत्र नम्बर १ मा बालकृष्ण खाँण समूहका हिरा केसी निर्वाचित भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको अधिवेशनबाट केसी पुनः क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

विश्वनाथ यादवसँग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले २९६ मत प्राप्त गरेका थिए भने यादवले २१५ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा (सुरज) र मोहम्मद रजा पठान निर्वाचित भएका छन् । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समुहकै हुन् ।

जिल्लाको क्षेत्र नम्बर ४ मा पौडेल समूहका र क्षेत्र नम्बर ५ मा भरत शाह समूहका नेताहरू सोमबार नै निर्विरोध भएका थिए ।

रुपन्देही–५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध भएका थिए । यहाँ भरत शाहले नयाँ प्यानल बनाएर बालकृष्ण खाँणसँग बदला लिन खोजेका छन् ।

केन्द्रमा अन्य समूहमा रहेका नेता पनि यहाँ उनीसँग रहेका छन् । यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्।

रुपन्देही–४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। उनी पौडेल समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र नम्बर ३ मा विवादका कारण मतदान नै रोकिएको छ भने क्षेत्र नम्बर २ मा सोमबार मतदान भएको र आज मात्रै गणना हुनेगरी रोकिएको छ ।

रूपन्देहीमा देउवा समूहमा रहेर पनि नेता भरत शाहले अलग्गै समूह बनाएर बालकृष्ण खाँणलाई कमजोर बनाएका छन् ।

आफ्नो पुरानो क्षेत्रमा कमजोर बनेपछि खाँणले क्षेत्र नम्बर १ मा आफ्नो कृयाशील सदस्यता सारेका छन् । यो क्षेत्रमा मात्रै उनको समूहको प्यानलले जितेको छ ।

जिल्लाको नेतृत्वमा आफ्नै भाइ रामकृष्ण खाँणलाई अगाडि सार्नु र उनकै हालिमुहालीका कारण धेरै स्थानीय नेताहरू असन्तुष्ट रहेको जिल्ला नेताहरुको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर