एमाले केन्द्रीय सदस्यमा केबी उप्रेतीको दावी, सहकारी क्षेत्रको साझा उम्मेदवार (भिडिओ) – Nepal Press

एमाले केन्द्रीय सदस्यमा केबी उप्रेतीको दावी, सहकारी क्षेत्रको साझा उम्मेदवार (भिडिओ)

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा केन्द्रीय सदस्यका उम्मेदवारमा नयाँ अनुहारको बाहुल्य बढ्न थालेको छ । ६३ लाख भन्दा बढी सहकारीका सदस्यहरुको नेतृत्व गर्ने राष्ट्रिय सहकारी वैंकका अध्यक्ष समेत रहेका पूराना नेता केबी उप्रेतीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सचिव समेत रहेका उप्रेतीले सहकारी क्षेत्रका समस्याको समाधानका लागि नीतिगत तहमै रहनुपर्ने भन्दै केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने बताएका छन् । उप्रेती खुला तर्फको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन् ।

दुई सय जनाभन्दा बढी सहकारीकर्मी नै महाधिवेशन प्रतिनिधि भएकाले आफूले खुलातर्फ केन्द्रीय सदस्य बन्न चाहेको उप्रेतीले बताए । एमालेको राजनीतिमा लामो समय बिताएका उप्रेती पछिल्लो समय सहकारी अभियानमा संलग्न रहेकाले पार्टीको सक्रिय राजनीतिमा देखिएका थिएनन् ।

एमालेले लिएको समृद्ध नेपाल,सुखी नेपालीको नारा सफल बनाउन सहकारीमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नपर्ने भएकाले केन्द्रीय कमिटी सदस्यका रुपमा नीतिगत व्यवस्था गर्न सकिने भएकाले आफू उम्मेदवार बनेको उनले बताए ।

उप्रेतीले भने–आज प्रत्येक घरमा पुगेको कुनै संरचना छ भने त्यो सहकारी नै हो । देशभरबाट २ सय भन्दा बढी एमालेका महाधिवेशन प्रतिनिधि सहकारी क्षेत्रकै आउनुभएको छ । त्यसैले सबैको साझा उम्मेदवारका रुपमा म अघि बढेको हुँ । पार्टी नेतृत्वको पनि मलाई साथ सहयोग हुनेछ ।

को हुन् उप्रेती ?

दोलखाको नाम्दुमा २०१७ साल असार १० गते जन्मिएका के. बी. उप्रेती (कृष्णबहादुर उप्रेती) २०३५/०३६ बाट विद्यार्थी आन्दोलनमा होमिएर राजनीतिमा लागेका हुन् । २०४५ सालमा पिपुल्स क्याम्पसमा अनेरास्ववियूको तर्फबाट स्ववियू सभापति बनेका उप्रेतीले जनआन्दोलन र त्यसपछिको आम निर्वाचनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

अनेरास्ववियूका तत्कालLन अध्यक्ष शंकर पोखरेलको नेतृत्वमा निजी क्याम्पस स्ववियू काउन्सिललाई स्ववियू काउन्सिलमा एकीकरण गराएपछि शंकर पोखरेलको अध्यक्षतामा रहेको स्ववियू काउन्सिलको कोषाध्यक्ष भएर उप्रेतीले काम गरेका थिए ।

२०४७ मा एमालेको संगठित सदस्य बनेका उप्रेतीले पार्टीको शाखा कमिटी सचिव, इलाका कमिटि सचिव हुदै काठमाडौ विशेष जिल्ला कमिटिको सदस्य र सचिव भएर जिम्मेवारी निर्वाह गरेका थिए । उनले तत्कालीन काठमाडौं क्षेत्र नम्बर ५ लाई कार्यक्षेत्र बनाएका थिए ।

केन्द्रीय सम्पर्क विभागको सदस्य हुदै पछिल्लो समय एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागमा रहेका उप्रेती दुई कार्यकाल विभागको सदस्य हुँदै हाल सचिव छन् । उप्रेती अहिले विभागका तर्फबाट नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

सहकारीका शीर्ष नेता

उप्रेती नेपालको सहकारी अभियानका एक अग्रज, क्रियाशील र व्यवस्थापकीय क्षमता भएका अभियन्ता पनि हुन् । उप्रेती देशभरका सहकारीकर्मीहरुबीच चिरपरिचित अनुहार हुन् । २०५५ सालदेखि सहकारी अभियानमा सक्रिय उप्रेतीले काठमाडौंमा जनता बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर काठमाडौंको सहकारी अभियानलाई एकीकृत गरेका थिए ।

एकैपटक १३ वटा सहकारी एकीकरण गरी हाल उनी हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष छन् । १३ वटा मात्र सदस्य रहेको काठमाडौं जिल्ला सहकारी संघमा २ हजार भन्दा बढी सदस्य बनाउन सफल उप्रेतीले २ कार्यकाल उक्त संघको नेतृत्व गरेका थिए ।

सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा दुई कार्यकाल लेखा संयोजक रहेका उप्रेती हाल महासंघको कार्यकारी सदस्य छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनामा महत्वपूर्ण योगदान गरेका उप्रेतीले केही समय स्वयंसेवकको रुपमा प्रबन्ध सञ्चालकको जिम्मेवारी लिएका थिए ।

२०७५ पुसदेखि बैंकको अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् । सहकारीका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा अनुभव प्राप्त गरेका उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको लागि संजाल (NEDAC) को बरिष्ठ उपाध्यक्ष समेत छन् ।

यसकारण उम्मेदवारी

उप्रेतीले संविधानको भावना अनुसार सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुख्य आधार स्तम्भ बनाउन पहल गर्ने र राजनीति र सहकारी क्षेत्रबीच देखिएको अन्यौलतालाई चिर्नका लागि आफू पार्टीको कार्यकारी तहमा जान खोजेको बताएका छन् ।

उनले पार्टीका कार्यकर्ताहरुलाई आयआर्जनका लागि शीप र दक्षता अभिवृद्धि गर्न तथा जनताको बहुदलीय जनवाद र सहकारीका सिद्धान्तहरुबीच सामञ्जस्यता ल्याउन आफूले पहल गर्ने बताएका छन् ।

नेपालको संबिधान मार्फत भएको राज्य पुनरसंरचनामा स्थानीय अर्थतन्त्रमा सहकारीको प्रयोग गरी समुन्नत समाज निर्माण गर्ने जबज मार्गनिर्देशनलाई कार्यन्वयन गर्न आवश्यक रहेको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर