‘प्रदेश २ सरकार मुख्यमन्त्री राउतको निजी सम्पत्ति होइन’ – Nepal Press
नेपाल टक

‘प्रदेश २ सरकार मुख्यमन्त्री राउतको निजी सम्पत्ति होइन’

तत्कालीन राजपाले रामनरेश राय यादवलाई प्रदेश २ को सांसद बनाएको थियो । उनी राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री पनि भए । तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकता भयो र जनता समाजावादी पार्टी (जसपा) बन्यो । तर उक्त एकता धेरै समय टिक्न सकेन, जसपा फुट्यो । र, महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भयो । तर तत्कालीन राजपाका कतिपय नेता पद बचाउन जसपामै बसे । तीमध्ये एक हुन्, रामनरेश राय यादव । तर केही दिनअगाडि उनलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरे । यसै सन्दर्भमा रायसँग गरिएको कुराकानी, नेपाल टकमा ।

तपाईं मन्त्रीबाट बर्खास्तमा पर्नुको कारण के ?

मैले त त्यस्तो कुनै गल्ती गरेको छैन । गल्ती भएको भए स्पष्टीकरण सोध्नु पर्थ्यो । तीनचार दिनअगाडि मलाई मुख्यमन्त्री ज्यूले बोलाउनु भएको थियो । उहाँले नेकपा एसलाई सरकारमा ल्याउनुपर्छ, त्यस विषयमा छलफल गर्नुछ भन्नुभयो । मैले पनि सेटलमेन्ट गर्नैपर्छ, गठबन्धन हो भनें ।

कात्तिक १३ गते काठमाडौंमा राजेन्द्र श्रेष्ठ जीको घरमा उच्चस्तरको बैठक भएको थियो । त्यहाँ पनि प्रदेश २ सरकारको विषयमा एकपटक छलफल गर्नुपर्ने कुरा भएको थियो । त्यसैले मैले पनि भनें– सबैसँग छलफल गर्नुस् ।

मुख्यमन्त्रीले मलाई भन्नुभयो– नेकपा एसलाई जुन संयुक्त मन्त्रालय छ, त्यहीं दिनुपर्छ । नेकपा एसको १३ सिट छ । नेपाली कांग्रेसको १९ सिट छ । अनि कांग्रेसलाई सिंगो मन्त्रालय दिन सकिएको छैन भने नेकपा एसलाई कसरी दिने ? बसेर छलफल गरौं । केन्द्रमा पनि छलफल होस् । कसरी सेटलमेन्ट गर्ने हो ? गरौं ।

अर्को कुरा, असोज १३ गते अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । हामी त आजीवन कुर्सीमा बस्ने होइन । लगभग चार वर्ष सरकारमा बस्यौं । मुख्यमन्त्रीले आफैं राजीनामा गर्नुभयो भने सबै मन्त्री हटिहाल्छन् । अनि नयाँ ढंगले सरकार बन्छ ।

नयाँ अनुहारले पनि एक वर्ष काम गर्ने मौका पाउँछन् । यो कुरा मैले मुख्यमन्त्रीलाई भनेको थिए । पछि त मुख्यमन्त्री सचिवालयबाट एउटा समाचार आयो कि, मन्त्री रामनरेश राय यादवले राजीनामा दिनुहुन्छ । मलाई आश्चर्य लाग्यो ।

सोहीबेला पत्रकार अनिल कर्णले सोध्दा मैले भनेको थिएँ– मैले किन राजीनामा दिने ? राजीनामा त मुख्यमन्त्रीले दिनुपर्छ । उहाँमाथि भ्रष्टाचार आरोप लागेको छ । छानविनको क्रममा भ्रष्टाचार भएको देखियो भनेर अख्तियारको प्रतिवेदनले भनेको छ । सायद, यसैकारण मलाई हटाएको हुनुपर्छ ।

मुख्यमन्त्रीले राजीनामा दिन भन्नुभएन ?

थिएन । स्वयम् मुख्यमन्त्रीमाथि नै भ्रष्टाचारको आरोप छ । त्यसैले मैले त उहाँलाई नै राजीनमा गर्न भनेको थिएँ, ताकि पूरै नयाँ अनुहारले पनि मौका पाउँछन् । प्रदेश २ सरकार मुख्यमन्त्री लालबाबु राउतको निजी सम्पति हो र जे पनि गर्न ? म त अझै भन्छु मुख्यमन्त्रीले अझै राजीनामा दिनुपर्छ ।

राजीनामाबारे पार्टीमा छलफल भएको थिएन ?

थिएन । कुनै तहमा छलफल भएको छैन । पार्टी सिस्टममा कसलाई राख्ने, कसलाई हटाउने कुराको छलफल पार्टीमा हुनुपर्थ्यो । मन्त्री हटाउने काम मुख्यमन्त्रीले गर्ने होइन । पार्टीले निर्देशन दिनुपर्थ्यो । पार्टीमा छलफल हुनुपर्थ्यो ।

तपाईँले त मन्त्री पद बचाउनकै लागि जसपामै बस्ने निर्णय लिनुभएको थियो नि, होइन ?

मन्त्री पद बचाउनका लागि होइन । तत्कालीन राजपाका धेरै नेता जसपामै बसे । म जस्तै १० जना कार्यकारिणी सदस्य नै छन् । यदि म मन्त्री पद बचाउन बसे भने अन्य साथीहरु के बचाउन बसे ? त्यो कुरा होइन । मलाई यतै ठीक लाग्यो, यतै बसें । जसको चित्त बुझेन निस्केर जानुभयो । पार्टी जीवनमा धेरै उतारचढाव भयो । जसपा बचाउनका लागि अहम् भूमिका निर्बाह गरेको छु । लालबाबु राउतभन्दा बढी भूमिका मेरो छ । पार्टीको साख र प्रतिष्ठा बचाउन मैले बढी काम गरेको छु । यो जगजाहेर छ ।

बर्खास्तीपछि मुख्यमन्त्री र पार्टी अध्यक्षसँग कुरा भयो ?

त्यो विषयमा कसैसँग कुरा गरिन्न । यो विषय बैठकमा राख्छु । कसैको निवास, घर, डेरामा गएर याचना गर्ने होइन नि । लालबाबु राउत पनि कार्यकारिणी सदस्य र म पनि । समान हैसियतको मान्छे हुँ । प्रोटोकलमा उहाँ मुख्यमन्त्री आउनुभएछ । म मन्त्री थिए । आज उहाँ मुख्यमन्त्री हुनुहुन्छ, म मन्त्री छैन । मलाई बर्खास्त गर्नुभएको छ । यो सवाल संसदीय दलको बैठक, कार्यकारिण्ी समितिको बैठक, अध्यक्ष र पार्टीमा राख्छु ।

भ्रष्टाचारमा संलग्न देखिएकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने विषय पार्टीमा किन उठाउनु भएन ?

भ्रष्टाचारमा संलग्नता देखिएको भनेर अख्तियारले जुन दिन भन्यो । त्यो दिनदेखि यता पार्टीको बैठक बसेकै छैन । यो त पार्टीको बैठकमा न राख्ने कुरा हो । अब पार्टीको बैठक हुन्छ, दलको बैठक हुन्छ । त्यसमा हामीले यो कुरा राख्छौं ।

तपाईंलाई कमिसन खाएर योजना बाँडेको आरोप पनि छ नि !

सांसदहरुलाई सोधनुस् न मैले कमिसन मागेको छु कि छैन भनेर । त्यतिकै आरोप लगाएर हुँदैन ।

यस प्रदेशको ६४ वटै क्षेत्रमा एउटा–एउटा प्राकृतिक किसिमको पोखरी बनाउने र एउटा–एउटा पार्क बनाउने निर्णय मैले नै गरेको हुँ । यो निर्वाचन क्षेत्रमा मेरो पार्टीका सांसद हो भनेर कसैलाई पनि योजना दिएको छैन । सबै पार्टीका सांसदलाई योजना दिएको छु ।

अब के गर्नुहुन्छ ?

मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने निर्णय पार्टीमा गराउँछु । म मात्र होइन्, पार्टीको साख जोगाउन सबैले मुख्यमन्त्रीको राजीनामा माग्नुपर्छ । मलाई विश्वास छ, सबैले यो गर्नुहुन्छ । पार्टी सबैको हो । रामनरेश एक्लै मात्र चुनाव लड्ने होइन । सबै लड्नुहुन्छ । जनताको बीचमा भोट माग्न जाँदा भन्छन् नि– तपाईँको मुख्यमन्त्रीमाथि भ्रष्टाचारको आरोप लागेको छ । खै तपाईहरुले निर्णय गर्नुभएको ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर