चितवनमा प्रचण्डले भने- ओलीजस्तो ठगको फेला परियो ! (भिडिओ) – Nepal Press

चितवनमा प्रचण्डले भने- ओलीजस्तो ठगको फेला परियो ! (भिडिओ)

‘ओलीका कारण सचिवहरू खुमलटार जानै डराउँदा रहेछन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘ठग’ को संज्ञा दिएका छन् । चितवनमा ठूला विकासका काम हुन लाग्दा ओलीले रोक्ने गरेको उनले दाबी गरे ।

चितवनको टाँडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओलीप्रति तिक्तता ओकलेका हुन् ।

उनले भने, ‘मान्छेलाई झूटो बोलेर भ्रम दिन र क्षणिकरूपमा ठग्न यत्तिको सिपालु मान्छे नेपालमा अर्को छैन । मैले तीन वर्षसँगै बसेर के बुझेँ (हाँस्दै) भने यति सफल ठग पनि नेपालमा जन्मेको रहेछ । केपी ओली ठगै हो भन्ने तपाईंहरूले जनतालाई बुझाउनुहोला ।’

प्रचण्डले थपे, ‘हुन त केपी ओलीलाई प्रधानमन्त्री बनाउने को हो भन्दा प्रचण्ड नै हो फेरि । त्यसको नैतिक जिम्मेवारी मैले लिनुपर्ने होला । तर, महान ठगको फेला परियो भन्या ।’

चितवनमा ठूला विकासका काम हुन लाग्दा ओलीले भाँजो हाल्ने गरेको उनको दाबी छ ।

प्रचण्डले भने, ‘शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने भनेपछि त्यहाँ माओवादीको गढ छ, प्रचण्डको हाइट बढ्छ भनेर त्यसलाई रोक्ने षड्यन्त्र गरे । नेपालकै ठूलो सभागृह बनाउन लाग्दा त्यसलाई पनि रोक्न हुनेसम्म प्रयास गरे । लड्दा-लड्दा बनाउन बाध्य बनाइयो, तर हत्त न पत्त आएर आफूले शिलान्यास गरेर मै हुँ जस्तो देखाउन खोजे । (चितवनमा) ठूला काम केही हुन थाले भने ओली भन्ने मान्छे त्यसलाई रोक्न पूरै तागत लगाउने ।’

ओलीले प्रधानमन्त्री छँदा सरकारी कर्मचारीलाई आफूसँग नजिक हुन नदिएको समेत प्रचण्डले गुनासो गरे ।

‘हुँदाहुँदा कतिसम्म भयो भने, कर्मचारी कोही प्रचण्डतिर हेर्‍यो भने त्यसको औंला भाँचिदिन्छु भने ओलीले । आँखा फोर्दिने रे । सचिवहरू थररर । खुमलटार गयो भने त केपी ओलीले मार्छ भन्ने पर्ने । त्यस्तो बनाए हेर्नुस् ।’

‘मैले पनि आगोसँग खेलिस्, गइस् अब भनेको थिएँ गए । अति गर्नु, अतिचार नगर्नु भन्छन् नि । अतिचारै गरे क्या यी मान्छले । त्यसकारण अहिले केन्द्रबाट पनि हात धुनुपर्‍यो, प्रदेशबाट पनि हात धुनुपर्‍यो ।’

आफूलाई सिध्याउन एमालेको महाधिवेशन चितवनमा गर्न लागिएको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘चितवनमा अधिवेशन गरेपछि प्रचण्डलाई सिध्याउनलाई हो । केको अधिवेशन हुने हो र ? छलफल हुने होइन, केही होइन । केपी ओलीलाई नेता भन्ने हिँड्ने, त्यस्तो नि अधिवेशन हुन्छ ? त्यो त चितवनमा ल्याउनुको मक्सद माओवादी सिध्याउनुमात्र हो । तैपनि मैले धन्यवाद भनेको छु । चितवनको जनतालाई, व्यवसायीलाई फाइदा हुने भयो । चितवन नै हो मुख्य भन्ने बनाइदिनुभयो भन्या छु ।’

आफूलाई महाधिवेशनमा निम्तो आएको भन्दै उनले जाने-नजानेबारे पार्टीमा सल्लाह गर्ने बताए ।

‘मलाई निम्तो गर्न आउनुभो । वक्ताको रूपमा भन्नुभएको छ । पार्टीमा सल्लाह गर्नु छ । कति धरै माया गरेको हो ? यो माया बोक्नै नसक्ने भएँ ।’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर