विदेशी लगानीको टिभी च्यानल उद्घाटन गरेर प्रधानमन्त्रीले कानूनको उल्लंघन गरे : ज्ञवाली (भिडिओ) – Nepal Press

विदेशी लगानीको टिभी च्यानल उद्घाटन गरेर प्रधानमन्त्रीले कानूनको उल्लंघन गरे : ज्ञवाली (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे ।  आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यामहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारे ।

गत मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थियो । प्रधानमन्त्री देउवाले उद्घाटन गरेको ती दुई च्यानल कानुनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दावी छ ।

उनले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रारम्भिक प्रतिक्रिया समेत दिए ।
प्रवक्ता ज्ञवालीले भने, ‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होईन । खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजन देखि लिएर अरु विभिन्न क्षेत्रहरु सञ्चार माध्यामहरुमा बाह््य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अव कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नु भयो । त्यो हामीले बुझेका छैनौं । बाह्य लगानीलाई के–के सुविधा दिने/नदिने भन्ने कुरा चाँही हाम्रा निश्चित नियमहरु छन । कुनै एक जना व्यक्तिको सस्तो लोकप्रियताको निम्ति म तपाईलाई यो सुविधा दिन्छु भन्दैमा ती कुराहरु भईहाल्छ जस्तो लाग्दैन । किनकी त्यो कानुनसम्मत हुन जरुरी हुन्छ । नेपालमा विदेशी लगानी आउने कुुरा राम्रो हो । तर लगानी कानुनसम्मत हुनुपर्छ । विधिसम्मत हुनुपर्छ, पारदर्शी हुनुपर्छ । त्यसो भएर पारदर्शी, विधिसम्मत र नेपालको प्राथमिकताको क्षेत्रमा आउने लगानीलाई हामी स्वागत गर्छौं । तर कानुन विपरित नेपालको राष्ट्रिय हितभन्दा फरक ढंगले त्यसरी आउने कुरा चाँही हुँदैन । अव त्यसको बारेमा सबै डिटेल आएपछि छलफल गर्छौं ।’

प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिए । उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताए । प्रवक्ता ज्ञवालीले पार्टीको दशौं महाधिवेशनमा नेताहरुको व्यवस्थापनका लागि विधान संशोधन गर्ने सम्भावना नरहेको बताउनु भयो । विधानको परिधिभित्र रहेर योग्यभन्दा योग्य नेताहरुलाई नेतृत्वमा चयन गर्ने उनको भनाई थियो ।

प्रवक्ता ज्ञवालीले महाधिवेशनमा विधानको विषयले नेतृत्व चयनमा समस्या पारेकाले त्यसलाई समाधान गरेर अघि बढन पहिलो पटक पार्टीको विधान महाधिवेशन छुट्टै आयोजना गर्नु परेको पनि स्मरण गराए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर