ए डिभिजन लिगमा थ्री स्टारको शानदार सुरुआत, च्यासल ३-० ले पराजित (तस्बिरहरू) – Nepal Press

ए डिभिजन लिगमा थ्री स्टारको शानदार सुरुआत, च्यासल ३-० ले पराजित (तस्बिरहरू)

काठमाडौं । सेट पिसमा बलियो देखिएको थ्री स्टार क्लबले शहीद स्मार ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबमाथि ३–० को जित निकाल्दै शानदार सुरुआत गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले गरेका तीनै गोल सेट पिसमा भएका थिए ।

थ्री स्टारका लागि सबै गोल डिफेन्डरले गरे । निशान खड्काले २१औं मिनेट फ्रि–किकमार्फत गरेको गोलसँगै थ्री स्टारले १–० को अग्रता बनाएको थियो ।

च्यासलका डिफेन्डर मोसा अबागानाले मिडफिल्डर संजोग राईमाथि फाउल गरेसँगै थ्री स्टारले करिब ३० यार्डको दूरीमा फ्रि–किक पाएको थियो । सोही फ्रि–किकमार्फत निशानले गरेको प्रहार सोझै गोलमा परिणत भएका थियो ।

त्यसको चार मिनेट नबित्दै थ्री स्टारका डिफेन्डर अनन्त तामाङले च्यासलका विङ्गर विकाश मेराग्लियालाई पेनाल्टी एरियामा लडाएका थिए । अनन्तको त्यो फाउलसँगै पेनाल्टीमार्फत खेलमा बराबरी गर्ने मौका च्यासलले पाएको थियो ।

तर, २६औं मिनेटमा च्यासलका इटालियन फरवार्ड विकाशले स्पटबाट गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले असफल बनाइदिए । खेलको सुरुआतदेखि नै थ्री स्टारलाई दबाबमा राखेको च्यासलले पेनाल्टीमा बराबरी गर्ने अवसरको सदुपयोग गर्न नसकेसँगै खेलमा आफ्नो पकड पनि गुमाएको थियो ।

खेलको २०औं मिनेटसम्म पछाडि बसेर खेलिहरेको थ्री स्टारले पहिलो गोलपछि खेलमा प्रभुत्व जमाएको थियो । फलस्वरुप पहिलो हाफको खेल सकिन १ मिनेट बाँकी रहँदा थ्री स्टारले अग्रता दोब्बर पार्यो ।

हेमन्त राना मगरले दायाँतर्फबाट हेमन्त थापा मगरले कर्नरमार्फत फालेको क्रसमा राफाएल रिमले हेडरमार्फत गोल गर्दै थ्री स्टारको अग्रता २–० मा लम्ब्याएका थिए । पहिलो हाफको अन्त्यतिर पूर्णरूपमा रक्षात्मक शैलीमा पुगेको च्यासलले दोस्रो हाफको सुरुआतमा सम्हालिने कोसिस गरेका थियो ।

तर, ५८औं मिनेटमा थ्री स्टारले पाएको कर्नरको सही सदुपयोग गर्दै अग्रता ३–० मा पुर्याएसँगै च्यासल थप दबाबमा परेको थियो । सेट पिसमा बलियो देखिएको थ्री स्टारका लागि पुनः एकपटक हेमन्त थापा मगरले कर्नरमार्फत दिएको उत्कृष्ट क्रसमा डिफेन्डर अनन्त तामाङले उत्कृष्ट हेडर गर्दै गोल गरेका थिए ।

जितसँगै तीन पटकको लिग च्याम्पियन थ्री स्टारले तीन अंक र क्लिनसीटसहित नयाँ सिजनको शानदार सुरुआत गरेको छ । शुक्रबारदेखि सुरु भएको ए डिभिजन लिगमा यो पहिलो हार-जितको नतिजा निस्किएको खेल हो ।

यसअघि शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए । त्यस्तै, शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका थिए ।

आइतबार दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब भिड्ने छन् । यस्तै, ४ः ४५ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *