राष्ट्र बैंकद्वारा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक – Nepal Press

राष्ट्र बैंकद्वारा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४-२०७७//७८) ले घरजग्गा मूल्य सूचांक तयार पार्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको थियो । २०७५/७६ लाई आधार वर्षको रूपमा लिई सर्वेक्षण गरिएको हो ।

घरजग्गा मूल्य सूचांक तयारीका लागि प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघंनता र तथ्याङ्क उपलव्धता समेतलाई हेरेर  नमूनाका रुपमा २० जिल्लाका २० स्थानलाई आधार मानी तथ्यांक संकलन गरिएको थयो ।

घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छनोट गरी तथ्यांक संकलन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि मालपोत कार्यालयबाट रेजिष्ट्रेसन पास गर्दा राखिने थैली र कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारमा मूल्य संकलन गरिएको छ ।

घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्या लिएकोमा २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० वटा गरी कुल १० हजार ३३६ कारोबारलाई नमूनाको रूपमा लिइएको थियो । यसैगरी बाणिज्य बैंकतर्फ २ हजार ४७६ वटा कारोबार नमूनाकारूपमा लिएको राष्ट्र बैंकले जनाएको छ ।

घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरी मुद्रास्फीति मापन गर्ने सूचांक निर्माण गरिएको बताइएको छ । नेपाल राष्ट्र बैंकले अबो यस्तो सूचांक त्रैमासिकरूपमा नियमित प्रकाशन गर्ने समेत जनाएको छ ।

सर्वेक्षणको नतिजानुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांक आधारमा मुद्रास्फीति २६.४५ प्रतिशत र मालपोत कार्यालयबाट प्राप्त तथ्यांक आधारमा १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ पहिलो नौं महिनामा यस्तो मुद्रास्फीति क्रमश १६.३१ प्रतिशत र १२.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा शिथिलता आएकाले मुद्रस्फीति घटेको नेपाल राष्ट्र बैंकले निष्कर्ष निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर