कानून व्यवसायीहरुमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

कानून व्यवसायीहरुमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीशको राजिनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न सुरक्षानिकायलाई आग्रह गरेको छ ।

आयोगले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै आन्दोलनरत कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न सुरक्षानिकायलाई आग्रह गरेको हो ।

आन्दोलनरत कानून व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएकोप्रति आयोगको ध्यानाकर्षण भएको  जनाएकाे छ ।

आयाेगकाे  प्रवक्ता डा  टिकाराम  पाेखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएकोले शान्तिपूर्ण आन्दोनमा रहेका कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरुको निशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषी देखिएकालाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

नेपाल बार एशोसिएसनको नेतृत्वमा भइरहेको कानून व्यवसायीहरुको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट निरन्तर अनुगमन गरिरहेको छ ।

आयोगका मानव अधिकार अधिकृतहरुको टोलीले आज सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गर्नुका साथै अन्नपूर्ण न्यूरो अस्पताल माइतिघरमा पुगी घाइतेको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिएको थियो ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको देब्रे काँध, कोखा र छातीमा चोट लागेको र खुट्टामा देखिएको निजको उपचारमा संलग्न चिकित्सकको भनाई  उदृत गर्दै आयोगले बताएको छ ।


प्रतिक्रिया

One thought on “कानून व्यवसायीहरुमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *