नेपालमा पेट्रोलियम पदार्थको मूल्य १० वर्षअघि भन्दा सस्तो – Nepal Press

नेपालमा पेट्रोलियम पदार्थको मूल्य १० वर्षअघि भन्दा सस्तो

८३ रुपैयाँमा किनेर १३६ मा बेच्दा पनि घाटा

काठमाडौं । अहिले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । तर, तथ्यांकले अरु वस्तुको तुलनामा पेट्रोलियम पदार्थको मूल्य नबढेको देखाउँछ । बरु १० वर्षअघिको तुलनामा अहिले पेट्रोलको मूल्य चार रुपैयाँ कम छ ।

नेपाल आयाल निगमका अनुसार १० वर्षअघि पेट्रोलको मूल्य प्रतिलितर १ सय ४० रुपैयाँ थियो भने अहिले १ सय ३४ रुपैयाँ छ । यसअर्थमा १० वर्षअघिभन्दा प्रतिलिटर पेट्रोलको मूल्य चार रुपैयाँ कम छ ।

आन्तरिक हवाई इन्धनको मूल्य पनि १० वर्षअघिको तुलनामा प्रतिलिटर ४२ रुपैयाँ घटेको छ । आर्थिक वर्ष २०६९–७० आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ४३ रुपैयाँ थियो भने अहिले १ सय १ रुपैयाँ छ ।

त्यस्तै १० वर्षअघि अन्तर्राष्ट्रिय हावई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर १४७० थियो भने अहिले ८९८ छ । १० वर्षको अवधिमा अन्तर्राष्ट्रिय हावई इन्धनको मूल्य प्रतिकिलो लिटर ५७२ अमेरिकी डलर घटेको छ ।

यो अवधिमा पेट्रोल र हावई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको मूल्य भने वृद्धि भएको छ । १० वर्षअघि डिजेल र मट्टीतेल तेल प्रतिलिटर १ सय ९ रुपैयाँ थियो भने अहिले १ सय १९ रुपैयाँ पुगेको छ । १० वर्ष अघिभन्दा अहिले डिजेल प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि भएको छ ।

त्यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि १० वर्षको अन्तरालमा प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ वृद्धि भएको छ । अर्थिक वर्ष २०६९÷७० मा प्रतिसिलिन्डर १ हजार ४ सय ७० रुपैयाँ रहेको थियो । हाल ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँ छ ।

१० वर्षको अवधिमा आर्थिक वर्ष २०७६÷७७ मा अन्तर्राष्ट्रिय हवाई इन्धन र ग्यासबाहेक अरु पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा सस्तो भएको थियो । सो वर्ष पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ८८ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ६५ रुपैयाँ रहेको थियो ।

नेपाल आयाल निगमले हाल पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३.१४ रुपैयाँ घाटा रहेको बताएको छ । एलपीजी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ रुपैयाँ घाटा भइरहेको निगमको भनाइ छ ।

८३ रुपैयाँमा किनेर १३६ मा बेच्दा पनि घाटा !

नेपाल आयाल निगमले हाल इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरिरहेको छ । विभिन्न प्रकारको कर जोडेर उपभोक्ताले प्रतिलिटर १ सय ३६ रुपैयाँ तिरिरहेका छन् ।

राजस्व र मूल्य अभिवृद्धि करबापत सरकारले प्रतिलिटर ५७.३६ रुपैयाँ, बीमा र ढुवानी खर्च प्रतिलिटर ५.०१ रुपैयाँ, निगमको प्रशासनिक खर्च ०.७० पैसा, प्राविधिक नोक्सानी १.०७ रुपैयाँ र बिक्रेताको खर्च नाफा ५.३२ रुपैयाँ गरी १ सय ५३ रुपैयाँ ५८ पैसा प्रतिलिटर परेको निगमको भनाइ छ ।

निगमले अहिले बिक्री गरिरहेको मूल्यमा १७ रुपैयाँ ५८ पैसा घाटा भइरहेको छ । निगमको अनुसार प्रतिलिटर १ सय ५३ रुपैयाँ ५८ पैसा प्रतिलिटर पेट्रोल बिक्री गर्ने हो भने मात्रै घाटा हुँदैन ।

निगमले डिजेल भारतबाट ८२ रुपैयाँ २१ पैसामा खरिद गरी १ सय १९ रुपैयाँमा बिक्री गरिरहेको छ । डिजेलमा सरकारले विभिन्न प्रकारको कर ४०.४१ रुपैयाँ, बीमा तथा ढुवानी खर्च ३ रुपैयाँ ७७ पैसा, निगमको प्रशासनिक खर्च ०.६९ रुपैयाँ, प्राविधिक नोक्सानी ०.६२ रुपैयाँ, बिक्रेताको नाफा ४.१७ रुपैयाँ लिने गरेको छ । सबै कार जोड्दा निगमलाई डिजेल प्रतिलिटर १ सय ३२ रुपैयाँ १४ पैसा पर्न आउँछ ।

निगमले हाल १ सय १९ रुपैयाँ प्रतिलिटर डिजेल बिक्री गरिरहेको छ । जसमा निगमलाई प्रतिलिटर १३ रुपैयाँ १४ पैसा घाटा छ ।

निगमले हाल आईओसीसँग प्रतिसिलिन्डर ग्यास १ हजार ६ सय १४ रुपैयाँमा खरिद गरिरहेको छ । प्रतिसिलिन्डर राजस्व र कर गरी २ सय ७८ रुपैयाँ ८६ पैसा, निगमको प्रशासनिक खर्च १०.७३ रुपैयाँ, बीमा, दुवानी खर्च र बिक्रेताको नाफा गरी ३ सय ६८ रुपैयाँ २ पैसा जोड्दा निगमलाई प्रतिसिलिन्डर २२ सय ३२ रुपैयाँ ८४ पर्न आउँछ ।

हाल निगमले प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा बिक्री गरिरहेको छ । प्रतिसिलिण्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा भाइरहेको निगमले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर