मोरङको ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी (भिडिओ) – Nepal Press

मोरङको ग्लोबल बायो इनर्जी इन्भेष्टमेन्टमा आगलागी (भिडिओ)

काठमाडौं । पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका -४ स्थित ग्लोबल बायो ईनर्जी ईन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ ।

बुधबार (आज) बिहान पौने ६ बजे आगलागि हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ । यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ ।

दुई सिफ्टमा संचालन हुने सो उद्योग गएरातिको बिहान २ बजे दोश्रो सिफ्ट पछि बन्द अवस्थामा थियो । सोहि समयमा आगलागी भएको हुनसक्ने उद्योग संचालक बिनित सिंघानियाले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उनको अनुमान छ ।

उद्योगको स्क्रयाप वार्डमा राखिएका पुराना टायरहरु जल्न थालेपछि आगलागिले भीषणरुप लिएको थियो । विराटनगर महानगरपालिका भित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको ईनरुवा र दुहबी लगायतका पालिकाबाट समेत दमकलहरु बोलाइएको उद्योग प्रशासनले जनाएको छ ।

टायरहरुमा लागेको आगो पानीको फोर्सले मात्र निभाउन समस्या भएपछि स्काभेटर मंगाएर टायरहरुको चाङलाई खोतलेर आगो नियन्त्रणमा लिइएको थियो ।

बिहान पौने ६ बजे लागेको आगो स्थानियबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र नियन्त्रणमा आएको थियो । सो उद्योगले पुराना टायरहरु संकलनगरि पघालेर फर्नेस आयलको उत्पादन गर्दै आएको छ । फर्नेस आयल उद्योगहरुमा ईन्धनकोरुपमा प्रयोग गरिन्छ ।

बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने अनुमान गरिएको भएपनि सो बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर