कांग्रेस एक्लै चुनाव लड्नुपर्छ: प्रकाशमान, लडे भैगो त: देउवा – Nepal Press

कांग्रेस एक्लै चुनाव लड्नुपर्छ: प्रकाशमान, लडे भैगो त: देउवा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले आगमी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै नेता सिंहले कम्युनिष्ट पार्टीहरुसँग चुनावी तालमेल गर्ने निर्णयले कांग्रेस कार्यकर्ता निराश बन्दै गएको बताए ।

सिंहले सत्तारुढ गठबन्धनको नेतृत्व कांग्रेसले गरेपनि आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कुरा शीर्ष नेताहरुले बोलेकोमा आपत्ति जनाए । ‘गठबन्धनका नेताहरुले चुनावी तालमेल हुन्छ भनेर बोलेका छन् । यसबारे पार्टीभित्र त कुरा भएको छैन । सभापतिजीले बुझ्नुहोला चुनाव एक्लै लड्नुपर्छ’, सिंहले भने ।

सिंहलाई रोक्दै सभापति शेरबहादुर देउवाले चुनावी तालमेलबारे कुनै निर्णय नभएको प्रष्ट्याए । ‘निर्वाचनसम्म यही सरकार रहन्छ भनेको हो । चुनावमा गठबन्धन हुन्छ भनेको छैन’, देउवाले भने । देउवाको जवाफमा चित्त नबुझाएका नेता सिंहले सार्वजनिक रुपमा प्रधानमन्त्री एवं सभापतिले नै गठबन्धन चुनावसम्म जाने भनेको जिकीर गरे । ‘तपाईंले चुनावमा गठबन्धन हुन्छ भनेको कुरा प्रेसमा आइसकेको छ । यसले कांग्रेसलाई हित गर्दैन । चुनाव त एक्लै लड्नुपर्यो नि’, सिंहले भने ।

सभापति देउवाले गठबन्धनमा चुनावी तालमेलको कुरा नभएको भन्दै निर्णय नभएको विषयमा शंका नगर्न आग्रह गरे । सिंहले फेरीपनि चुनावी तालमेल गर्न नहुने र कांग्रेस एक्लै लड्नुपर्ने दाहोर्याए । जवाफमा सभापति देउवाले भने- चुनावको त कुरै भएको छैन नि । एमाले र माओवादी मिल्दा हामी सबै हारेको अहिले ओली र प्रचण्ड फुटेपछि एक्लै लड्ने भन्ने ? तपाईं लड्नुस् एक्लै । तपाईं एक्लै लडे त भैगो ।

देउवाले बारम्बार चुनावी तालमेलको निर्णय नभएको बताएका थिए । त्यसअघि सत्तारुढ गठबन्धनको संयन्त्र गठन कम्युनिष्टहरुको दवावमा गरिएको सिंहको आरोप थिए । जवाफमा देउवाले राष्ट्रियसभा निर्वाचनसम्मका लागि संयन्त्र बनाएको जवाफ दिए ।

नेता सिंहले समायोजन र क्रियाशील सदस्यता वितरणमा देखिएका समस्या समाधानका लागि भएका सहमति कार्यान्वयनमा इमान्दारिता नदेखाउँदा कार्यकर्ता अन्यायमा परेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर