अर्थमन्त्री-गभर्नरबीच छलफल, तरलता अभाव समाधान मुख्य एजेण्डा – Nepal Press

अर्थमन्त्री-गभर्नरबीच छलफल, तरलता अभाव समाधान मुख्य एजेण्डा

काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

छलफलमा पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको चरम तरलता अभावको समस्या समाधानको मुख्य एजेण्डा रहेको बताइएको छ । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्न लागेको र पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाका बारेमा बिफ्र गरेको अर्थमन्त्रालयका एक अधिकारीले नेपाल प्रेसलाई बताए ।

अर्थतन्त्रमा देखिएको पछिल्लो असन्तुलनबारे मन्त्रालयले चासो दिँदै रेमिटान्स, आयात तथा विदेशी मुद्राको तथ्यांकको सुक्ष्म विश्लेषण गरिरहेको ती अधिकारीले बताए । बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि र बढ्दो शोधान्तरघाटाले अर्थतन्त्रमा पार्न सक्ने संभावित जोखिमका विषयमा अर्थमन्त्री गम्भीर बनेको उनको दाबी छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको अनावश्यक हस्तक्षेपका कारण बजारमा तरलता अभावको समस्या देखिएको र त्यसपछि बैंक वित्तीय संस्थाले ब्याजदर बढाउने होडबाजीमा उत्रिएका थिए । बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

तरलता समस्या समाधानका संम्भावित विकल्पहरुबारे २७ वटै बाणिज्य बैंकका सीईओ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली र अर्थमन्त्री शर्मासहितकाे टीमले शुक्रबार पनि छलफल गरेको थियो ।

बैंकर्सले अर्थमन्त्रीलाई पुँजीगत खर्च बढाउन, स्थानीय तहमा जाने शतप्रतिश रकम निक्षेप गणनामा प्रयोग गर्न दिन, निर्माण व्यवसायीको बाँकी रहेको रकम तत्कालै भुक्तानी गर्न र रेमिटान्समा भएको चुहावट रोकेर बैंकिङ प्रणालीमार्फत भित्र्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । यसैगरी उनीहरुले उद्योगी व्यवसायीहरुले कर छली गर्न न्यूनबिजिकरण गरी वस्तु आयात गर्दै भुक्तानी हुण्डीमार्फत गर्ने गरेको भन्दै त्यसलाई रोक्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।

अर्थमन्त्री शर्माले जवाफमा अहिले तरलता अभावको समस्या हुनुपर्ने कुनैपनि कारण नरहेको भन्दै नेपाल राष्ट्र बैंकलाई नीति परिवर्तन गर्न सुझाव दिएका थिए ।

सचिव मधुकुमार मरासिनीले स्थानीय तहमा जाने रकम किस्ता-किस्ता गरे जाने भएकाले यसले तरलताको समस्या समाधान नहुने भन्दै अनुउत्पादिनशील क्षेत्रमा जाने कर्जा र आयातमा दिने कर्जामा कडाई गरेर सहयोग गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर