एमाले महाधिवेशन प्रतिनिधि छनौटः लुम्बिनीका अधिकांश जिल्लामा सहमतिको प्रयास जारी – Nepal Press

एमाले महाधिवेशन प्रतिनिधि छनौटः लुम्बिनीका अधिकांश जिल्लामा सहमतिको प्रयास जारी

रुपन्देही । नेकपा एमालेको आशन्न महाधिवेशनमा प्रतिनिधि छनौटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लामै शुक्रबार बिहानबाट प्रकृया शुरु भएको थियो ।

सबै जिल्लामा सकेसम्म सर्वसम्मत प्रतिनिधि छान्ने केन्द्रको प्रस्ताव अनुसार लुम्बिनीमा पनि चुनावमा नजानेगरी प्रयास गरिएको छ । शुक्रबार साँझ ६ बजेसम्म रोल्पा जिल्ला र पाल्पाको क्षेत्र नं १ मा मात्र सर्वसम्मत प्रतिनिधि छनौट भएको एमाले लुम्बिनी प्रदेश कार्यालयमा सचिव बलाराम अधिकारीले जानकारी दिए ।

सबैभन्दा धेरै प्रतिनिधि सहभागी हुने रुपन्देही, दाङ, बाँकेलगायतका सबै जिल्लामा सर्वसम्मत बनाउने प्रयास गरिए पनि आकांक्षी धेरै भएकाले समय लागेको प्रदेश अध्यक्ष लिला गिरीले बताए ।

रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाका अनुसार रोल्पाबाट महिला कोटामा जुनमाया बुढा र इश्वरी जिएम, दलित कोटाबाट रिमा नेपाली र खुल्लातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर, शान्तकुमार वली चयन भएको जानकारी दिए ।

पाल्पा जिल्ला अध्यक्ष नारायण आचार्यका अनुसार १५ जना सहभागी हुने जिल्लाबाट क्षेत्र नं १ को ६ जना निर्विरोध भएका छन् भने २ नं क्षेत्रमा पनि सहमति बनाउने प्रयास जारी रहेको छ । क्षेत्र नं १ बाटा २ महिला र ४ पुरुष गरी ६ जना सर्वसम्मत भएका छन् ।

गुल्मीमा पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनौटका लागि जिल्ला अध्यक्ष मधुकृष्ण पन्तसहितको सचिवालयलाई जिम्मेवारी दिइएको छ । १८ जना प्रतिनिधि सहभागी हुन पाउने गुल्मीबाट ४३ आकांक्षी सबैले हस्ताक्षर गरेर नेतृत्वलाई सर्वसम्मत रुपमा छनौट गर्ने अधिकार दिइएकाले निर्वाचन नहुने नेता हरि पोखरेलले जानकारी दिए ।

सबैभन्दा धेरै प्रतिनिधि सहभागी हुने रुपन्देहीमा आकांक्षी धेरै भएपछि नेतृत्वलाई सर्वसम्मत बनाउन सकस भएको छ ।

३३ जना प्रतिनिधि बन्न पाउने रुपन्देहीमा १ सयभन्दा धेरै आकांक्षी भएपछि नेतृत्वले सबैलाई राखेर मिलाउने प्रयास गरेको छ । तर धेरै नेताहरु, जनप्रतिनिधि नै आकांक्षी भएकाले कसलाई बस भन्ने चुनौती थपिएको एक नेताले बताए ।

१९ प्रतिनिधि सहभागी हुन पाउने कपिलवस्तुमा २ जना दलित कोटाबाट सर्वसम्मत भएपनि अन्यको टुंगो लागेको छैन । आकांक्षी धेरै भएकाले नेतृत्वलाई समस्या भएको भएपनि सहमतिमै प्रतिनिधि छान्ने प्रयास भएको नेता भेषराज पाण्डेले बताए ।

अर्घाखाँचीमा सहमतिमा प्रतिनिधि छान्ने काम अन्तिम चरणमा पुगेको नेता शोभाखर पन्थीले बताए । १६ जना प्रतिनिधि बन्न पाउने जिल्लामा क्षेत्रगत रुपमा सहभागीको टुंगो लगाइने उनले बताए ।

यसैगरी बाँके र बर्दियामा पनि सहमतिमा प्रतिनिधि छान्ने अन्तिम प्रयास भएको पत्रकार झलक गैरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर