‘१० बुँदेको भ्रम’बाट मुक्त भएर पार्टी प्रवेश गर्नेहरु बढेको नेकपा एसको दावी – Nepal Press

‘१० बुँदेको भ्रम’बाट मुक्त भएर पार्टी प्रवेश गर्नेहरु बढेको नेकपा एसको दावी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी गठन भएपछि यसप्रतिको आकर्षण बढ्दै यसमा संगठित हुने लहर शुरु भएको दावी गरेको छ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्- यो पार्टी निर्माणपूर्व ‘नेकपा (एमाले) को एकता जोगाउने’ नाममा गरिएको कथित १० बुँदे सहमतिको भ्रममा परी हाम्रो पार्टीमा सामेल नहुनु भएका देशभरका कमरेडहरु पछिल्लो समय उक्त भ्रमबाट मुक्त हुनुभई पार्टीमा प्रवेश गर्न थाल्नुभएको हो ।

एकीकृत समाजवादीले डडेल्धुराका जिल्ला कमिटी अध्यक्ष तारा जोशीसहित जिल्ला नेतृत्वका १४ जना पार्टीमा प्रवेश गरेको बताएको छ। १० बुँदेको भ्रममा परी जोशी एमालेमै रहेको भए पनि अहिले त्यो तोडिएपछि एकीकृत समाजवादीमा आएको खतिवडाको दावी छ।

त्यस्तै महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (माले) परित्याग गरी खोटाङ, तनहुँ र स्याङ्जा जिल्ला कमिटी, विभिन्न प्रदेश र केन्द्रीय विभागका जिम्मेवारीमा रहेकाहरु एकीकृत समाजवादीमा आवद्ध भएको नेकपा एसले जनाएको छ।

मालेका पोलिटब्युरो सदस्य कूलप्रसाद शर्मा फुँयाल, केन्द्रीय सदस्यहरु श्यामराज राई, कालीप्रसाद यादव, शंकर पोखरेल लगायत नेकपा एसमा आएको बताइएको छ। त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) दोलखा जिल्ला कमिटी सदस्य रामबहादुर खड्कासहित गौरीशंकर गाउँपालिकाका एमालेका १० जना समर्थक नेकपा एसमाप्रवेश गरेको बताइएको छ ।

स्थायी कमिटी बैठक बस्दै

नेकपा एसले स्थायी कमिटीको बैठक समेत बोलाएको छ । भोलि दिउँसो २ बजे बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका एजेन्डा तय गर्ने छ।

त्यस्तै विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्नेहरुको जिम्मेवारी र भूमिकाबारे उक्त बैठकले निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने छ ।


प्रतिक्रिया

2 thoughts on “‘१० बुँदेको भ्रम’बाट मुक्त भएर पार्टी प्रवेश गर्नेहरु बढेको नेकपा एसको दावी

  1. पहिले तपाईंको सोच बदल्नुस अनि अरूलाई गाली गर्नुस् तपाई पनि एमाले हुदा देखेको हो उदयपुर मा देखिएको छ अरूलाई गाली गरेर होइन आफू सच्चिनु पर्छ ।

  2. पदकाे लाटि पार्टी फुटाउनेले जुन हदसम्मकाे पनि अनैतिक काम गर्न सक्छ ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर