एयरपोर्टमा जफत गरिएका विदेशी मदिरा कहाँ जान्छ ? कसले खान्छ ? – Nepal Press

एयरपोर्टमा जफत गरिएका विदेशी मदिरा कहाँ जान्छ ? कसले खान्छ ?

काठमाडौं । गत शनिबार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधृकित (सिइओ) धनञ्जय रेग्मी लण्डनबाट फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा भन्सारको लफडामा परे । आफूसँग ल्याएको ६ बोतल विदेशी रक्सी भन्सारले जाँचपास नगरेपछि कर्मचारी कुटेको आरोप उनीमाथि लागेको छ ।

सीइओ रेग्मीले विदेशबाट ल्याएको महंगो रक्सी भन्सार कर्मचारीले बरामद गरेका छन् । कानून अनुसार एक जनाले एक लिटरभन्दा बढी रक्सी विदेशबाट ल्याउन पाइँदैन । एयरपोर्ट भन्सारमा यसरी रक्सी बरामद हुनु नौलो घटना होइन । तर, यसरी बरामद गरिएको रक्सी कहाँ जान्छ र कसको पेटमा पुग्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

नेपालीहरु विदेशबाट फर्किँदा मदिरा किनेर ल्याउने गर्छन् । कसैले आफ्नै उपभोगका लागि त कसैले आफन्तलाई उपहार दिन । एक लिटरसम्म मदिरा ल्याउँदा भन्सार तिर्नु पर्दैन, त्यसैले नेपालमा भन्दा सस्तो पर्छ ।

वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरुले नेपालमा एक लिटरको मापदण्ड थाहा नभएर बढी परिमाणमा मदिरा ल्याउने गरेका छन् । यस्तो मदिरा उनीहरुले बिमानस्थलमा नै गुमाउनुपर्छ । भन्सारले कानुनले तोकेकोभन्दा धेरै बस्तु वा सामान ल्याएमा एयरपोर्टमै जफत गर्ने गरेको छ । यस्तोमा कानूनी कारवाहीको समेत भागिदार हुनुपर्छ ।

जफत गरिएको मदिरा सुरुमा आन्तरिक राजस्व विभागको कार्यलयमा पठाउने गरिएको छ । मदिरामा प्रयोग भएको स्टीकरको विषयमा अध्ययनका लागि आन्तरिक राजस्व विभागमा पठाउने गरिएको हो । विदेशी ब्रान्डको महंगो मदिरा भएमा लिलामी प्रक्रियाबाट बिक्री गरिन्छ । कमसल खालका मदिरा भने नष्ट गर्ने गरिएको विभागले जनाएको छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्य विक्रम खड्काले बिमानस्थलबाट जफत गरिएका मदिरा वा अन्य गैरकानूनी बस्तुमध्ये स्वास्थ्यमा नकारात्मक असर गर्ने वस्तुलाई भन्सारले नष्ट गर्ने गरेको बताए । खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट भएको वा म्याद सकिएको, स्वास्थ्यमा असर गर्ने बस्तु भएमा नष्ट गर्ने गरेको उनको भनाइ छ ।

‘सामान्य बान्डका मदिराहरु नष्ट गर्ने गरेका छौं । महंगो ब्रान्डको मदिरा अबैध बाटो भएर आएको भए नियन्त्रणमा लिइ आन्तरिक राजस्व विभागलाई बुझाउने गरिएको छ,’ उनले भने ।

राजस्व विभागले स्टीकरको विषयमा के गर्ने भनेर भन्सारलाई सोध्छ । भन्सारले ब्रान्डेड मदिरा मात्रै लिलामी प्रक्रियामा गएर बिक्री गर्ने गरेको छ । भन्सारमा समातिएका बस्तुहरु लिलामी प्रक्रियाबाट बिक्री गरेर आएको रकम सरकारको राजश्वमा दाखिला गर्ने गरिएको छ । यद्यपि, धेरैजसो मदिरा सामान्य किसिमकै आउने खड्का बताउँछन् ।

आर्थिक वर्ष २०७७/७८ मा भन्सार छली गरेर ल्याएका मदिरा, कपडा, खाद्य वस्तु, सवारी साधन, मल र फलफूल लगायतका १७ हजार १३१ वटा मुद्धा परेका थिए । तीमध्ये १ हजार ५८ वटा मुद्दा फैसला भएर गत आर्थिक वर्षमा सरकारले २ अर्ब २२ करोड राजस्व उठाएको थियो ।

नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी विदेशबाट आउनेले भन्सारबाट छिराउन सकिन्छ कि भनेर १ लिटरभन्दा बढी मदिरा ल्याउन गरेको बताउँछन् ।

‘छिराउन सकिएन भने भन्सारमै छाड्ने गरी धेरैले मदिरा ल्याउने गरेका छन्,’ उनले भने ।

केसीका अनुसार नेपालमा करिब ५५ सय रुपैयाँ पर्ने ब्ल्याक लेबल विदेशबाट ल्याउँदा ३ हजार रुपैयाँमा नै आइपुग्छ ।

नेपालमा व्यवसायिक प्रयोजनका लागि पनि मदिरा आयात गरिन्छ । भन्सार विभागको तथ्यांक अनुसार वार्षिक दुई अर्बभन्दा बढीको मदिरा विदेशबाट आउने गरेको छ । मदिरा आयातकर्ताहरुका अनुसार नेपालमा स्कटिस ह्वीस्कीको ठूलो बजार छ । यसका साथै, जोनी वाकर, सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा बढी आयात हुने गरेका छन् ।

भारतसहित अमेरिका, यूरोप र खाडी मुलुकबाटसमेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा देखिन्छ । नेपालमा मदिराजन्य उद्योगहरु करिब दुई हजारको संख्यामा छन् । वार्षिक ३० अर्ब रुपैयाँको मदिरा कारोवार हुने गरेको अनुमान छ ।

भन्सार विभागका अनुसार यस आर्थिक वर्षको असोज महिनामा मात्रै विभिन्न देशबाट नेपालमा २३ करोड ९२ लाख २७ हजारको १ लाख ५४ हजार ३०८ लिटर विभिन्न ब्रान्डको मदिरा नेपाल भित्रिएको थियो । नेपालमा विदेशी मदिराले ३० प्रतिशत बजार ओगटेको मदिरा उत्पादकहरु बताउँछन् ।

डा. युवाराज खतिवडा अर्थमन्त्री भएको बेला २०७६ साल चैतमा सबै किसिमका रक्सीको आयातमा रोक लगाइएको थियो । तर, ७ महिनापछि सरकारले फेरि मदिराको आयात खुल्ला गर्‍याे । सात महिना विदेशी मदिरा आयात रोक्दा करोडौं पैसा विदेशीनबाट रोकिएको थियो ।


प्रतिक्रिया

One thought on “एयरपोर्टमा जफत गरिएका विदेशी मदिरा कहाँ जान्छ ? कसले खान्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर